आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

रील्समा मात्र होइन, वास्तविक जीवनमा पनि प्रभाव पार्ने ‘इन्फ्लुएन्सर’ : अमृतको मानवीय अभियान

    प्रकाशित २०८३ भाद्र २५, बिहिबार (३ हफ्ता अघि)


‘सोसल मिडिया इन्फ्लुएन्सर’ भन्नाले सामान्यतया आफ्नो भिडियो, विचार वा सामग्रीमार्फत अरूलाई प्रभावित पार्ने व्यक्तिलाई बुझिन्छ। तर इन्फ्लुएन्सको वास्तविक अर्थ त्यतिबेला देखिन्छ, जब सामाजिक सञ्जालमा देखिने व्यक्ति आफ्नो डिजिटल संसारबाट बाहिर निस्किएर वास्तविक जीवनमा पीडित र समस्यामा परेका मानिसहरूको साथमा उभिन्छ।


कमेडी तथा रोस्टिङ कन्टेन्टमार्फत चर्चित बनेका कन्टेन्ट क्रिएटर अमृत परियार (PY Amrit) यसको एउटा उदाहरण बनेका छन्। नेपालमा विपत्ति आइपरेपछि अमृत र उनको टिमले MRR Team Nawalpur तथा Gen Z Nawalpur लगायतका युवाहरूसँग सहकार्य गर्दै राहत तथा उद्धार अभियानमा सक्रिय भूमिका निर्वाह गरे। व्यवस्थापनदेखि अस्पतालहरूमा आवश्यक सामग्री उपलब्ध गराउने, राहत सामग्री संकलन गर्ने, प्रभावित परिवार तथा व्यक्तिहरूको खोजीमा सहयोग गर्ने लगायतका काममा उनीहरू निरन्तर खटिए।

नवलपुरबाट संकलित राहत सामग्री लिएर उनीहरूको टोलीले १६–१७ वटा गाडी प्रभावित क्षेत्रतर्फ पठाउँदै विदुरदेखि किस्पाङसम्म पुगेर राहत वितरण गरेको थियो। सामाजिक सञ्जालमा पोस्ट र भिडियो बनाएर मात्र सीमित नरही उनीहरू प्रत्यक्ष फिल्डमै पुगेर पीडितहरूको दुःखमा साथ बने।


हामीले दैनिक रील्स, टिकटक र युट्युबका भिडियोहरूमा देखिरहेका कन्टेन्ट क्रिएटरहरू जब क्यामेराको अगाडि होइन, दुःखमा परेका मानिसहरूको बीचमा उभिन्छन्, त्यतिबेला उनीहरूको प्रभावको वास्तविक अर्थ देखिन्छ। अमृतको पहिचान रोस्टरको रूपमा होला। उनले मानिसहरूलाई रोस्ट गर्छन्, व्यङ्ग्य गर्छन् र मनोरञ्जन दिन्छन्—त्यो उनको कन्टेन्टको एउटा पाटो हो। तर त्यसभन्दा बाहिर उनले देखाएको मानवता र सामाजिक जिम्मेवारी उनको अर्को महत्वपूर्ण परिचय बनेको छ।

किनकि वास्तविक इन्फ्लुएन्सर त्यो मात्र होइन, जसलाई लाखौँ मानिसले फलो गर्छन्। वास्तविक इन्फ्लुएन्सर त त्यो हो, जसको एउटा काम देखेर अरू मानिस पनि कसैको दुःखमा साथ दिन प्रेरित हुन्छन्। रील्सबाट वास्तविक जीवनसम्म पुगेर पीडितहरूको साथमा उभिएकोमा— धन्यवाद, अमृत (PY Amrit)।

Write your Comment



↑