

देवचुली । देवचुली उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा स्थानीयबाट संकलन गरेको राहत सामग्री तथा नगद रकम रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सहयोग गरेको छ। संघले नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी २ लाख ३३ हजार ६ सय ४९ रुपैयाँ सहयोग गरेको हो। साथै, बाढी प्रभावितका लागि लत्ताकपडा तथा खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको छ।

देवचुली उद्योग वाणिज्य संघको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा संघका अध्यक्ष सत्यनारायण भुसाल, संस्थापक अध्यक्ष धर्म बस्याल, निवर्तमान अध्यक्ष सूर्य दवाडी, वरिष्ठ उपाध्यक्ष विनोद सिलवाल, महासचिव तिलादेवी न्यौपानेलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सदस्य केशव भण्डारीलाई चेक तथा राहत सामग्री हस्तान्तरण गरिएको थियो।
चेक तथा राहत सामग्री ग्रहण गर्दै महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्माले देवचुली उद्योग वाणिज्य संघबाट संकलित रकम प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा जम्मा गरिने र खाद्यान्न तथा अन्य राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइने जानकारी दिनुभयो।

संघले विपद्का बेला उद्योगी, व्यवसायी तथा स्थानीयको सहयोगमा संकलन गरिएको रकम र सामग्री प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेको छ।