

देवचुली-१५ मा रहेको विश्व ज्योति माध्यमिक विद्यालयले रसुवा बाढी प्रभावितका लागि ६ लाख १० हजार १ सय रुपैयाँ सहयोग गरेको छ। विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागितामा संकलन गरिएको उक्त रकम विभिन्न माध्यमबाट बाढी प्रभावितको राहत तथा सहयोगका लागि प्रदान गरिएको हो।

विद्यालयका प्रिन्सिपल प्रदीप बास्तोलाका अनुसार प्रशासन, विद्यार्थी, शिक्षक तथा कर्मचारीको तर्फबाट संकलन गरिएको ५ लाख १ सय रुपैयाँ प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा पठाइएको छ। त्यसैगरी विद्यालय प्रशासनको तर्फबाट थप ८० हजार रुपैयाँ प्याब्सनमार्फत प्रधानमन्त्री विपद् व्यवस्थापन कोषका लागि प्रदान गरिएको छ। विश्व ज्योति च्यारिटी फण्डबाट ३० हजार रुपैयाँ रसुवा बाढीबाट प्रभावित विद्यालयकी शिक्षिका लक्ष्मी न्यौपानेको माइतीघरमा क्षति पुगेको जानकारीपछि उहाँमार्फत सम्बन्धित स्थानमा पुर्याउने गरी हस्तान्तरण गरिएको छ।

बाढीपीडितका लागि राहत सहयोग जुटाउने क्रममा विद्यार्थीहरूलाई स्वेच्छिक रूपमा सहयोग गर्न अनुरोध गरिएकोमा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीबाट १ लाख १२ हजार ९ सय १० रुपैयाँ संकलन भएको हो । सो क्रममा कक्षा ५ मा अध्ययनरत अन्शु बस्यालले ५ हजार रुपैयाँ सहयोग गरेकी छन्। त्यसैगरी आफ्नो जन्मदिनको अवसरमा कक्षा २ मा अध्ययनरत प्रिन्सेस खत्रीले २ हजार ५ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रिन्सिपल प्रदीप बास्तोलाले जानकारी दिनुभयो।