

नवलपुर । मध्यविन्दु नगरपालिकाले हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।नगरपालिकाको आयोजना तथा महिला समूह, आमा समूहलगायत संघसंस्थाको सहभागितामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
मध्यविन्दु नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगिता भदौ २४ गते बुधबार मध्यविन्दु नगरपालिकाको सभाहलमा आयोजना हुनेछ। प्रतियोगिताको गीतको विषयवस्तु “समृद्ध मध्यविन्दु, खुसी नगरवासी” रहनेछ। प्रतियोगितामा मध्यविन्दु नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका असल अभ्यास तथा उपलब्धिलाई उजागर गर्दै समृद्ध र खुसी नगर निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ। प्रथम हुने समूहले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ, तृतीयले १२ हजार रुपैयाँ तथा सान्त्वना हुने समूहले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबै समूहलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुने समूह सम्बन्धित वडाको समूह सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक समूहमा बढीमा १० जना सहभागी हुन पाउनेछन् भने प्रस्तुतिका लागि अधिकतम ७ मिनेट समय निर्धारण गरिएको छ। तोकिएको समयभन्दा एक मिनेट अगावै प्रस्तुति समाप्त गर्नुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै, गीतमा कुनै व्यक्ति, राजनीतिक दल वा संघसंस्थालाई आरोप लगाउने तथा सामाजिक सद्भाव खल्बलाउने खालका शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। तीजको मौलिक भावनासँगै नेपालीपन झल्किने भेषभूषालाई समेत मूल्यांकनमा ध्यान दिइने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले भदौ २३ गते दिउँसो २ बजेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखामा समूहका सहभागीको नामसहित दर्ता गराउनुपर्नेछ। प्रतियोगितामा सहभागी समूहका लागि यातायात खर्चको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ।