आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

देवचुली र गैंडाकोट नगरपालिकाको साझेदारीमा दमकल सेवा सुरु

    प्रकाशित २०८३ भाद्र ८, सोमबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको लागत साझेदारीमा बारुण यन्त्र (दमकल) सेवा सुरु गरिएको छ । आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सुरु गरिएको हो ।


देवचुली नगरपालिकामा सोमबार आयोजित एक कार्यक्रमका बीच दमकल सेवाको औपचारिक शुभारम्भ गरिएको हो। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले संयुक्त रूपमा दमकलको पूजा गरी सेवाको शुभारम्भ गर्नुभएको थियो।

नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, गैंडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्य, देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, विभिन्न वडाका वडाध्यक्ष, नगरभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले दुई स्थानीय तहबीचको सहकार्यमा दमकल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो। उहाँले आगलागी तथा विपद्का घटना जुनसुकै बेला हुनसक्ने भएकाले नागरिकको सुरक्षाका लागि आपत्कालीन सेवा तयारी अवस्थामा राख्न आवश्यक रहेको बताउनुभयो। “आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो। दुई पालिकाको साझेदारीमा दमकल सेवा सुरु गर्न सफल भएका छौँ। अब यसलाई दुवै पालिकाका नागरिकलाई सहज र छिटो सेवा पुग्ने गरी व्यवस्थापन गर्छौँ,” नगर प्रमुख न्यौपानेले भन्नुभयो।


गैंडाकोट नगरपालिकाका उप प्रमुख शान्ति कोइरालाले दमकललाई देवचुली र गैँडाकोट दुवै पालिकाका नागरिकलाई पायक पर्ने स्थानमा राख्ने गरी आवश्यक व्यवस्थापन मिलाइने बताउनुभयो। दमकल घटनास्थलसम्म छिटो पुग्न सके आगलागी तथा अन्य विपदबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका र गैंडाकोट नगरपालिका बिच २०८१ मंसिर २६ गते भएको सम्झौता अनुसार ९४ लाख ४४ हजार रुपैयाँमा दमकल खरिद गरिएको र सम्झौतामा उल्लेख गरिएको अनुसार गैंडाकोट नगरपालिकाले ७० प्रतिशत र देवचुली नगरपालिकाले ३० प्रतिशत लागत साझेदारी गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दमकल संचालनका लागि कार्यविधी निर्माण गरिएको र दुवै पालिकालाई पायक पर्ने स्थानबाट संचालन गरिने बताउनुभयो ।


कार्यक्रममा बोल्दै रास्वपा देवचुलीका सभापति शेरबहादुर केसी र जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले दुई नगरपालिकाबीचको सहकार्यबाट सञ्चालनमा आएको दमकल सेवाले विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै नगर प्रवक्ता तिलप्रसाद काफ्लेले दमकल सेवा सञ्चालनका लागि दुई नगरपालिकाबीच भएको लागत साझेदारीले स्थानीय तहबीचको सहकार्य र समन्वयलाई समेत थप मजबुत बनाएको बताउनुभयो । दुवै पालिकाको समन्वयमा आगामी दिनमा दमकल संचालन गरिने उहाँले बताउनुभयो । उक्त कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेले गर्नुभएको थियो।

Write your Comment