

देवचुली । देवचुली-१६ मा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । देवचुली नगरपालिकाको आयोजनामा तथा जलवायु अनुकूलन वास परियोजनाको सहकार्यमा शुक्रबार देवचुली-१६ प्रभात जनता आधारभूत विद्यालयमा तालिम सञ्चालन गरिएको हो ।

महिला तथा किशोरीहरुलाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू तथा बजारिया प्याडको सट्टामा घरमै प्याड बनाई प्रयोग गर्न उत्प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो ।महिलाहरूलाई बजारिया प्याडहरु प्रयोग गर्दा विभिन्न रोगहरुको संक्रमित हुन सक्ने भएकाले घरमै प्याड निर्माण गरी प्रयोग गर्नका लागि सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
तालिममा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माणका लागि यानमाया गुरुङले सहजीकरण गर्नुभएको हो । तालिममा सहभागीहरूलाई महिनावारीका समयमा अपनाउनुपर्ने सरसफाइका उपाय, सुरक्षित तथा स्वास्थ्यकर सामग्रीको प्रयोग र उचित व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको हो। तालिममा प्रभात जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टोपबहादुर सारु, शिक्षक, कक्षा ७ र ८ का विद्यार्थी, बाह्रकोल र बेलस्वाराका महिलाहरुको उपस्थिति रहेको थियो।

जलवायु अनुकूलन वास परियोजनाले देवचुली नगरपालिकामा खानेपानी तथा सरसफाइ सम्बन्धि परियोजना संचालन गरिरहेको छ। सो परियोजना अन्तर्गत संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
।