

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाले नगर क्षेत्रका युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगार र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यले ‘युवा उद्यमशीलता प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुन लागेको यस कार्यक्रमले युवाहरूको उद्यमशीलताप्रतिको रुचि तथा आवश्यकता पहिचान गर्नुका साथै स्थानीयस्तरमा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीबारे जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ।
नगरपालिकाले कार्यक्रमको पहिलो चरणअन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। यस कार्यक्रममार्फत युवाहरूलाई उद्यम सुरु गर्ने सोच, स्थानीय स्रोत र सम्भावनाको उपयोग, अवसर पहिचान तथा आगामी चरणमा उपलब्ध हुने तालिम र अनुदानसम्बन्धी कार्यक्रमबारे जानकारी दिइनेछ।

कार्यक्रममा सहभागी हुन १६ देखि ४९ वर्ष उमेर समूहका युवा तथा उद्यमीहरू योग्य हुने नगरपालिकाले जनाएको छ। पहिलो चरणको अभिमुखीकरणमा अनिवार्य रूपमा सहभागी भएका युवाहरूलाई आगामी चरणमा नगरपालिकाबाट सञ्चालन गरिने तालिम तथा अनुदानसम्बन्धी कार्यक्रमहरूमा सहभागी गराइने विशेष व्यवस्था गरिएको छ। इच्छुक युवा तथा उद्यमीहरूले नगरपालिकाले जारी गरेको सूचनामा रहेको क्युआर कोड वा गुगल फम मार्फत १५ दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। अनलाइन फाराम भर्न प्राविधिक समस्या वा अन्य सहयोग आवश्यक परेमा सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक सहजीकरण लिन सकिने नगरपालिकाले जनाएको छ।