

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगरपालिकाको आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पार्टीसँग आबद्ध नेता तथा कार्यकर्ताको ज्ञान, सीप, क्षमता र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा विभिन्न विषयमा सहजीकरण गरिएको थियो।

आइतबार देवचुलीस्थित साहारा पार्टी प्यालेसमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रभावकारी नेतृत्व, संगठन निर्माण तथा परिचालन, जिम्मेवार नेतृत्वको विकास, निर्णय गर्ने क्षमता, जनतासँगको सम्बन्ध र सञ्चार सीपलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको रास्वपा देवचुलीका सभापति शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रशिक्षणका क्रममा नेतृत्व केवल पद र जिम्मेवारीसँग मात्र सीमित नहुने, नेतृत्वकर्तामा जिम्मेवारीबोध, अनुशासन, इमानदारिता, सकारात्मक सोच तथा समूहलाई सही दिशामा अगाडि बढाउन सक्ने क्षमता आवश्यक हुने विषयमा जोड दिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई व्यक्तिगत क्षमताको पहिचान गर्दै आफ्ना कमजोरी सुधार गर्ने, समूहमा सहकार्य गर्ने, समस्या समाधानका लागि पहल गर्ने तथा जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो। संगठनभित्र आपसी समन्वय, सहकार्य र प्रभावकारी सञ्चार कायम गर्दै नेतृत्व विकास गर्नुपर्नेमा जोड दिइएको थियो।

प्रशिक्षण कार्यक्रमका प्रशिक्षक तथा संघीय सांसद राजन गौतमले नेतृत्व विकास निरन्तर सिकाइ र अभ्यासको प्रक्रिया भएको उल्लेख गर्दै सक्षम नेतृत्व उत्पादनका लागि ज्ञानसँगै व्यवहारिक सीप र अनुभवको पनि उत्तिकै आवश्यकता पर्ने धारणा राख्नुभएको थियो । उहाँले स्थानीयस्तरका नेता तथा कार्यकर्ताले जनताका समस्या बुझ्दै समाधानका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीका सभापति शेरबहादुर केसीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संघीय सांसद राजन गौतम को प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि रास्वपा गण्डकी प्रदेश का सह-महामन्त्री सीता वाग्ले, जिल्ला अध्यक्ष दोमन भण्डारी, जिल्ला सदस्य, नगरपालिकासँग आबद्ध नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।