

नवलपुर । सामाजिक संजाललाई सामाजिक प्रभावमा बदल्न मध्यविन्दुका किशोरीहरुका लागि `युवा स्टोरीटेलर्स´ कार्यशाला सुरु भएको छ । किशोरीहरूलाई सामाजिक सञ्जालको सिर्जनात्मक र जिम्मेवार प्रयोगमार्फत सामाजिक सवाल उठाउन तथा सकारात्मक परिवर्तनका लागि नेतृत्व गर्न सक्षम बनाउने उद्देश्यले कार्यशाला सुरु गरिएको हो ।

मध्यविन्दु नगरपालिकाको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल पत्रकार महासंघ नवलपुर शाखा तथा क्यानालनको सहकार्यमा आयोजना गरिएको दुईदिने कार्यशालाको शनिबार मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, कानलनका दिपक बस्याल र नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलले किशोरीहरूको क्षमता विकास, सञ्चार सीप र सामाजिक नेतृत्वका विषयमा धारणा राख्नुभयो ।कार्यशालामा मध्यविन्दु नगरपालिका क्षेत्रका ३५ जना किशोरी अभियन्ताको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पत्रकार राजेश शर्मा र विष्णु गौडेलले सहजीकरण गरिरहनुभएको छ ।
कार्यशालामा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कथा निर्माण तथा प्रस्तुतिकरण, पत्रकारिता र सञ्चार सीप, सामाजिक सवालको पहिचान, डिजिटल सामग्री निर्माण तथा सामाजिक सञ्जालमार्फत सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने विषयमा सहभागीलाई प्रयोगात्मक ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले किशोरीहरूलाई केवल सामाजिक सञ्जालका प्रयोगकर्ता नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने सक्रिय अभियन्ता र कथावाचकका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किशोरीहरूको क्षमता र सिर्जनशीलतालाई सामाजिक रूपान्तरणसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले किशोरीहरूमा रहेको सिर्जनात्मक क्षमता र आवाजलाई सही माध्यमबाट बाहिर ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सवाल उठाउने र परिवर्तनका लागि प्रयोग गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने उहाँको भनाइ थियो ।
कानलनका दिपक बस्यालले डिजिटल माध्यमको बढ्दो प्रभावसँगै किशोरीहरूले सामाजिक सञ्जालको सुरक्षित, सिर्जनात्मक र जिम्मेवार प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिलाई सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलले सामाजिक सवाललाई तथ्यमा आधारित ढंगले प्रस्तुत गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । किशोरीहरूले आफ्ना समुदायका समस्या, सम्भावना र आवाजलाई कथामार्फत बाहिर ल्याउन सके त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।
कार्यशालाले किशोरीहरूलाई आफ्ना सवाल र अनुभवलाई कथा, भिडियो तथा डिजिटल सामग्रीमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माका अनुसार कार्यक्रमले किशोरीहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुग्नेछ । उहाँले किशोरीहरूलाई आफ्नो आवाज आफैँ उठाउन, सामाजिक सवाल पहिचान गर्न र डिजिटल माध्यमबाट सकारात्मक परिवर्तनका लागि योगदान गर्न सक्षम बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
दुईदिने कार्यशालाले सहभागी किशोरीहरूलाई सामाजिक सञ्जालबाट सामाजिक प्रभाव सिर्जना गर्ने दिशामा थप सक्षम बनाउने आयोजकको विश्वास छ ।