आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

देवचुली नगरपालिकाद्वारा सामुदायिक विद्यालयका बसमा सीसीटिभी क्यामेरा जडान

    प्रकाशित २०८३ श्रावण ३०, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यालय बसमा सीसी क्यामरा जडान गरिएको छ । विद्यार्थीहरूको यात्रालाई सुरक्षित, व्यवस्थित र निगरानीयोग्य बनाउने उद्देश्यले नगरपालिकाद्वारा विद्यालय बसमा सीसी क्यामेरा जडान गरिएको हो ।

देवचुली नगरपालिकाले नगर भित्र रहेका १५ वटा विद्यालय बसमा ११ लाख २५ हजार रुपैयाँ लागतमा सिसीटिभी क्यामरा जडान गरेको हो । प्रत्येक बसमा विद्यार्थी उत्रने/चढ्ने स्थान अघि, बस भित्र र बसको पछाडी भागमा क्यामरा जडान गरिएको हो । बसको सबैतिरको विद्यार्थीका गतिविधिलाई सवारी चालकले हेर्न मिल्ने गरि डिस्प्ले बोर्ड राखिएको छ । जसले गर्दा सवारी चलाउँदा सहज भएको सवारी चालकले बताउँछन् ।


५ वर्ष अघिदेखी विद्यालय बस चलाउँदै आउनुभएको भीमसेन आदर्श माविका सवारी चालक घनश्याम आलेले क्यामरा जडान भएपछि बसको अगाडि , पछाडी तथा दायाँबायाँ हेर्न सहज भएको बताउनुभयो । बसमा साना साना बालबालिकाहरुलाई नदेखिने भएकाले जोखिम उतिकै थियो, देवचुली नगरपालिकाले क्यामरा जडान गरिदिए पछि निकै सहज भएको र आफुलाई खुसी लागेको उहाँले बताउनुभयो ।

विद्यालय बसमा विद्यार्थीको सुरक्षासँगै बसभित्र अनुशासन कायम गर्न समेत क्यामराले सहयोग गरेको जनज्योति माविका सवारी चालक यादव अर्यालले बताउनुभयो । क्यामरा जडान भएपछि अब सहचालक नहुँदा पनि आफुलाई गाह्रो नहुने उहाँले बताउनुभयो ।


भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले विद्यालय बसमा सीसी क्यामेरा जडान हुनु विद्यार्थी सुरक्षाको दृष्टिले महत्वपूर्ण काम भएको बताउनुभयो। उहाँका अनुसार बसमा यात्रा गर्ने विद्यार्थी तथा अभिभावक दुवैका लागि यसले सुरक्षाको अनुभूति बढाएको छ। कुनै समस्या वा घटना भएको अवस्थामा वास्तविक अवस्था बुझ्नसमेत सीसी क्यामेराको फुटेज उपयोगी हुने उहाँले बताउनुभयो ।

त्यस्तै, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर दाहालले विद्यालय बसमा सीसी क्यामेरा जडान गर्ने नगरपालिकाको पहललाई सकारात्मक कदमका रूपमा लिनुभएको छ। उहाँले विद्यार्थीको सुरक्षा अहिलेको प्रमुख आवश्यकता भएकाले प्रविधिको प्रयोगमार्फत बस सेवालाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो।


देवचुली नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेका अनुसार नगरपालिकाले विद्यार्थी सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयका बसमा सीसी क्यामेरा जडान गर्ने कार्य अघि बढाएको हो। उहाँले विद्यालय बसमा यात्रा गर्ने बालबालिकाको सुरक्षा, बसभित्रको गतिविधिको निगरानी तथा सम्भावित अप्रिय घटनालाई न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार संस्थागत विद्यालयमा पनि नगरकै बालबालिका अध्ययन गर्ने भएकाले संस्थागत विद्यालयलाई सम्न्वय गरि विद्यालय बसमा सिसीटिभी क्यामरा जडान गर्न अनुरोध गरिने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाको यो पहललाई सामुदायिक विद्यालयको शैक्षिक वातावरणसँगै विद्यार्थी सुरक्षालाई प्रविधिमैत्री बनाउने प्रयासका रूपमा हेरिएको छ।

Write your Comment