आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

देवचुली-१५ मा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    प्रकाशित २०८३ श्रावण ३०, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली-१५ मा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । नवप्रगति युवा क्लबको आयोजनामा, देवचुली नगरपालिका वडा नम्बर १५ को समन्वय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विशेष सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्दै सुरक्षित सडक प्रयोग गर्ने उद्देश्यले देवचुली नगरपालिका-१५, प्रगतिनगरमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको क्लबका अध्यक्ष श्रीकृष्ण बिकले जानकारी दिनुभयो । कार्यक्रममार्फत सडक प्रयोगकर्ता, सवारी चालक, यात्रु तथा पैदलयात्रीलाई ट्राफिक नियमको पालना र सडक सुरक्षासम्बन्धी जानकारी तथा सचेतना प्रदान गरिएको उहाँले बताउनुभयो ।

नवप्रगति युवा क्लबका अध्यक्ष श्रीकृष्ण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिका-१५ का वडा अध्यक्ष सुरेश रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख विरेन्द्र गुरुङ, जनज्योति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमनाथ जैसी, देवचुली नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपाने, वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, आमा समूहका प्रतिनिधिहरू, जनज्योति माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरू लगायत स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीलाई सडक दुर्घटना हुनुका प्रमुख कारण, दुर्घटना न्यूनीकरणका उपाय तथा सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो। विशेषगरी सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीले पनि सडक पार गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

सडक दुर्घटना केवल सवारी चालकको लापरबाहीका कारण मात्र नभई पैदलयात्री, यात्रु तथा सडक प्रयोग गर्ने सबै पक्षको असावधानीका कारण पनि हुन सक्ने भएकाले सडक सुरक्षामा सबैको समान जिम्मेवारी रहने इलाका प्रहरी कार्यालय रजहरका प्रमुख वीरेन्द्र गुरुङले बताउनुभयो । ट्राफिक नियमको पालना कानुनी बाध्यता मात्र नभई आफ्नो र अरूको जीवन सुरक्षासँग जोडिएको विषय भएको सहभागीहरूलाई सडकलाई सहज रुपमा प्रयोग गर्ने र ट्राफिक नियमलाई पालना गरि यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रानाभाटले सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी प्रशासन, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी युवा तथा विद्यार्थीलाई ट्राफिक नियमप्रति सचेत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। देवचुली नगरपालिका नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमलाई समुदाय र विद्यालयस्तरसम्म संचालन गरिने बताउनुभयो । उहाँले सवारी चालकले जिम्मेवार भएर सवारी सञ्चालन गर्ने र आम नागरिकले ट्राफिक नियमको पालना गर्ने हो भने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले ट्राफिक सचेतना प्लेकार्ड सहित सवारी चालक तथा यात्रुहरुलाई सचेतना प्रदान गरिएको थियो । क्लबका उपाध्यक्ष सिर्जना अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण क्लबका कोषाध्यक्ष चोवाकला टण्डनले गर्नुभएको थियो ।

Write your Comment