आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

मध्य नेपाल साकोस नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा सम्मानित हुने

    प्रकाशित २०८३ श्रावण ३०, शनिबार (१ महिना अघि)


देवचुली । देवचुलीमा प्रधान कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी लिमिटेड नेपालकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) को रूपमा सम्मानित हुने भएको छ। मध्य नेपाल साकोसलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नेपालकै सर्वोत्कृष्ट साकोसको रूपमा सम्मान गर्ने निर्णय गरेको हो ।

नेफ्स्कुनले समुदायमा आधारित वित्तीय सेवा, सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार, वित्तीय समावेशिता, सदस्य केन्द्रित सेवा, बचत तथा ऋण परिचालन तथा सहकारी अभियानमा पुर्‍याएको उल्लेखनीय योगदानको मूल्याङ्कनका आधारमा सर्वोकृष्ट साकोस चयन गर्ने मध्य नेपाल बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तुलमणी पौडेलले जानकारी दिनुभयो । नेफ्स्कुनले आफ्नो स्थापना दिवस अवसरमा मध्य नेपाल साकोसलाई सम्मान गर्ने उहाँले बताउनुभयो ।

नवलपुर जिल्लाभर कार्यक्षेत्र रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले हाल ११ वटा सेवा केन्द्रमार्फत सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । मध्य नेपाल साकोसमा असार मसान्तसम्म २७ हजार २३० जना शेयर सदस्य आबद्ध रहेका छन्। संस्थाको शेयर पूँजी रु. १७ करोड ३२ लाख २०० पुगेको छ भने सदस्य तथा बचतकर्ताबाट संकलित बचत निक्षेप रु. १ अर्ब ३२ करोड ४९ लाख रहेको छ। सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न संस्थाले विभिन्न शीर्षकमा रु. १ अर्ब २६ करोड ६२ लाख बराबरको ऋण लगानी गरेको छ। संस्थाको संस्थागत पूँजी रु. १२ करोड ८८ लाख पुगेको छ भने संस्थाको कुल कारोबार करिब रु. १ अर्ब ६४ करोड रहेको छ।

नियमित बचत, ऋण, वित्तीय परामर्श तथा सहकारी शिक्षा लगायतका सेवामार्फत संस्थाले सदस्यसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ ।

Write your Comment