आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई देवघाट तीर्थयात्रा

    प्रकाशित २०८३ श्रावण २९, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका–१ निवासी तारापति काफ्लेको जन्मदिनको अवसरमा जेष्ठ नागरिक तथा धार्मिक व्यक्तिहरूलाई देवघाट तीर्थयात्रा गराइएको छ। काफ्ले परिवारले आफ्ना अभिभावक तारापति काफ्लेले ९६ वर्ष पूरा गरी ९७ वर्षमा प्रवेश गरेको अवसर पारेर उक्त धार्मिक तीर्थयात्राको आयोजना गरेको हो।


शुक्रबार बिहान देवचुली–१ स्थित काफ्ले निवासबाट तीर्थयात्राका लागि टोली देवघाटतर्फ प्रस्थान गरेको थियो। देवघाट पुगेपछि टोलीले पवित्र नदी संगममा स्नान गर्नुका साथै दीप प्रज्वलन गरी धार्मिक पूजाआजा गरेको तारापती काफ्लेका छोरा कुश्माखर काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार तीर्थयात्राका क्रममा देवघाट क्षेत्रका विभिन्न धार्मिक तथा ऐतिहासिक मन्दिरहरूको अवलोकन गरिएको थियो। साथै केही समय भजन–कीर्तन गर्दै परिवारजन तथा सहभागीहरूले तारापती काफ्लेलाई जन्मदिनको शुभकामना दिएका थिए। सो अवसरमा परिवारका अभिभावक काफ्लेबाट सहभागीहरूले आशीर्वाद समेत ग्रहण गरेका थिए।


तीर्थयात्रामा देवचुली नगरपालिकाका विभिन्न वडाबाट जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। जन्मदिनलाई केवल पारिवारिक उत्सवका रूपमा सीमित नराखी जेष्ठ नागरिक तथा धार्मिक व्यक्तिहरूसँग सामूहिक रूपमा तीर्थयात्रा गराएर मनाइएको काफ्ले परिवारले जनाएको छ।

तारापती काफ्ले ४ छोरा, ३ छोरी, २७ जना नातिनातिना, ३३ जना पनातिपनातिनी लगायतको अभिभावक रुपमा रहेका छन्। पर्वत जिल्लाबाट बसाइँसराइ गरी काफ्ले परिवार २०२८ सालमा देवचुलीको गैँडी क्षेत्रमा आएको पारिवारिक स्रोतले जनाएको छ। त्यसपछि २०४४ सालदेखि काफ्ले परिवार हाल बसोबास गर्दै आएको क्षेत्रमा स्थायी रूपमा बसोबास गर्दै आएको हो ।

Write your Comment