आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

देवचुलीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

    प्रकाशित २०८३ श्रावण २७, बुधबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना, जागृति बाल तथा युवा सरोकार नेपाल र देवचुली जेसिजको सहकार्यमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालय, किर्तीपुरमा गरिएको हो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, प्रशासकीय अधिकृत अविनाश पन्थी , शिक्षा शाखाका अधिकृत नन्दलाल ढकाल, कृषि विकास शाखा प्रमुख गगन भट्टराई, आयोजक तथा सहकार्य संस्थाका प्रतिनिधि लगायत नगर भित्रका विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

`भिन्न परिवेश साझा आकांक्षा: देवचुलीको समृद्धिमा स्थानीय उत्पादनको भुमिका´ भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका ९ विद्यालयका सहभागिता रहेको थियो । प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालयका प्रितम कार्की प्रथम, सकलादेवी माविका प्रतिमा कंडेल द्वितीय, देवचुली माध्यमिक विद्यालयका दिक्षा कंडेल तृतीय र अमर इङलिस बोर्डिङ स्कुलका अन्जली योगी सान्त्वना भएका छन् । प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतियोगितामा नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सो प्रतियोगिताको सहजीकरण आयोजक संस्थाका सदस्य अशोक अधिकारीले गर्नुभएको थियो ।

Write your Comment