

देवचुली । देवचुली स्वास्थ्य चौकी देवचुली- ७ मा नवनिर्मित बर्थिङ सेन्टर भवनको समुदघाटन गरिएको छ । संघीय सरकारको गत आर्थिक वर्षमा विनियोजित ६३ लाख रुपैयाँबाट निर्माण गरिएको भवनको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाट्न गर्नुभएको हो ।

देवचुली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा देवचुली-७ का वडा अध्यक्ष भुमीसरा थापाको अध्यक्षतामा भएको भवनको समुदघाटन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानीय स्तरमै सुरक्षित मातृत्व तथा प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त बर्थिङ सेन्टर भवन उद्घाटनसँगै सञ्चालनमा आउने देवचुली स्वास्थ्य चौकीका प्रमुख लीलाप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँले बर्थिङ सेन्टरको भवन बनेसँगै देवचुली ६-९ वडाका गर्भवती र सुत्केरी महिलालाई प्रसूति तथा मातृ स्वास्थ्यसम्बन्धी सेवा लिन थप सहज हुने बताउनुभयो ।

देवचुली नगरपालिकाले नागरिकलाई नजिकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य क्षेत्रमा विभिन्न पूर्वाधार तथा सेवा विस्तारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा विस्तारसँगै आमा र नवजात शिशुको स्वास्थ्य संरक्षणका लागि नवगठित बर्थिङ सेन्टर भवन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । नगरपालिकाले स्वास्थ्य चौकीको स्तर उन्नतिका लागि सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत गर्नुभएको थियो ।
समुदघाटन कार्यक्रममा भवन निर्माण लगायत स्वास्थ्य चौकीमा रहेका स्तर उन्नती गर्नुपर्ने कार्यका बारेमा देवचुली स्वास्थ्य चौकीका जन स्वास्थ्य निरीक्षक देवीप्रसाद भुसालले जानकारी गराउनुभएको थियो । देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठले बर्थिङ सेन्टर व्यवस्थित संचालनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, देवचुली-८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, जिल्ला खानेपानी महासंघका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, प्रसासकीय अधिकृत अविनाश पन्थी, स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाको प्रतिनिधि कगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । देवचुली स्वास्थ्य चौकीका प्रमुख लीलाप्रसाद काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण सि अहेव राजेन्द्र रिजालले गर्नुभएको थियो ।