आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

रास्वपा देवचुलीद्वारा नारायणी दिव्यधाम मन्दिर परिसरमा सरसफाइ

    प्रकाशित २०८३ श्रावण २७, बुधबार (१ महिना अघि)


देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुलीले नारायणी दिव्यधाम मन्दिर परिसरमा सरसफाइ गरेको छ । रास्वपा देवचुलीद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देवचुली-१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नारायणी दिव्यधाम मन्दिर परिसरमा सरसफाइ अभियान गरिएको हो ।

रास्वपा देवचुली नगर कमिटीको युवा तथा खेलकुद विभाग संयोजक सुमन अधिकारीको अध्यक्षतामा भएको सरसफाइ अभियानमा रास्वपा नवलपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मेघराज पराजुली, रास्वपा देवचुलीका सभापति शेरबहादुर केसी, नारायणी दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद पाठक, सचिव कुश्माखर काफ्ले, रास्वपा आबद्ध नेता, कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो।

अभियानअन्तर्गत नारायणी दिव्यधाम मन्दिर परिसर, नारायणी घाट क्षेत्र तथा नारायणी नदी किनारका आसपासका क्षेत्रमा रहेका फोहोरजन्य वस्तु संकलन तथा व्यवस्थापन गरिएको थियो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको नारायणी दिव्यधाममा दैनिक रूपमा विभिन्न स्थानबाट भक्तजन तथा पर्यटकहरू आउने भएकाले परिसरको सरसफाइ र संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको रास्वपा देवचुलीका सभापति शेरबहादुर केसीले बताउनुभयो । सरसफाइ अभियानले धार्मिक स्थलको सौन्दर्य जोगाउनका साथै स्वच्छ वातावरण निर्माणमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ।

राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगर कार्यसमितिले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको र आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ । सरसफाइ कार्यक्रम औपचारिक कार्यक्रमको सहजीकरण रास्वपा देवचुलीका सदस्य चक्रपाणी साँखीले गरेका थिए ।

Write your Comment