आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

देवचुली–७ मा सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

    प्रकाशित २०८३ श्रावण २५, सोमबार (१ महिना अघि)


देवचुली । सामुदायिक वन दिवस-२०८३ को अवसरमा देवचुली नगरपालिका-७ स्थित देउसतखोला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने नाराका साथ वन संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक वनको दिगो व्यवस्थापनमा जोड दिँदै सामुदायिक वन उपभोक्ता महासंघको आयोजना डिभिजन वन कार्यालय नवलपुरको समन्वय साथै सहमति र देउसोताखोला सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरिएको हो।


सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली–७ का वडा अध्यक्ष भुसिसरा थापा, डिभिजन वन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पोख्रेल, सब–डिभिजन वन कार्यालय देवचुली–बुलिङटारका वन अधिकृत रमेश बस्नेत लगायतको उपस्थिति रहेको थियो। त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्र, प्रदेश, जिल्ला र नगरका पदाधिकारी, देवचुली नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, देउसतखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। वन संरक्षणसँगै वनबाट प्राप्त हुने स्रोत–साधनको दिगो उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले वन संरक्षणलाई आगामी पुस्तासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो। सामुदायिक वनको विकासका लागि उपभोक्ता समूह, स्थानीय तह र सम्बन्धित सरकारी निकायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।


वृक्षारोपण कार्यक्रममा वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। वन क्षेत्रको हरियाली विस्तार गर्नुका साथै वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र भावी पुस्ताका लागि वन सम्पदा जोगाउने उद्देश्यले वृक्षारोपण गरिएको हो। कार्यक्रममा बोल्दै देवचुली-७ का वडा अध्यक्ष भुमिसरा थापा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमल पराजुलीले सामुदायिक वन स्थानीय समुदायको सहभागिताबाट संरक्षण हुँदै आएको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको बताउनु भएको थियो । वन संरक्षणसँगै यसको दिगो व्यवस्थापन, वन पैदावारको उचित उपयोग तथा स्थानीय समुदायको आयआर्जनसँग जोड्नुपर्ने कुरामा उहाँहरूले जोड दिनुभयो ।

वन संरक्षण केवल वृक्षारोपणमा मात्र सीमित नराखी रोपिएका बिरुवाको नियमित हेरचाह तथा संरक्षणमा पनि ध्यान दिनुपर्नेमा सहभागीले बताएका थिए । वन डढेलो, अतिक्रमण तथा अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र वन कार्यालयबीच निरन्तर सहकार्य आवश्यक रहेको सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेले बताउनुभयो ।


देउसतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुनिता बस्याल क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत सुवास अधिकारीले गर्नुभएको थियो।

Write your Comment