

देवचुली । देवचुली नगरपालिका–१ मा रहेको नारायणी दिव्यधाम परिसरमा सिग्देल परिवारद्वारा वृक्षारोपण गरिएको छ। वातावरण संरक्षण तथा धार्मिक क्षेत्रलाई हरियाली र सुन्दर बनाउने उद्देश्यले आइतबार एकादशीको अवसर पारेर वृक्षारोपण गरिएको हो।

सिग्देल परिवारले नारायणी दिव्यधाम र दिव्य मध्यवर्ती सामुदायिक वनसँग समन्वय गरी तारबार तथा जालीसहित ३५ भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेको हो। वातावरण स्वच्छ राख्ने तथा पञ्चवृक्षका बिरुवा रोप्ने आफ्नो इच्छाअनुसार वृक्षारोपण गरिएको इश्वरीप्रसाद सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार परिसरमा वर, पिपल, स्वामी, आँप, बेललगायत विभिन्न फूलका बिरुवा रोपिएका छन्।
वृक्षारोपणसँगै बिरुवाको संरक्षणका लागि तारबार र जालीको समेत व्यवस्था गरिएको छ। यसका लागि बिरुवासहित तारबार व्यवस्थापनमा एक लाख रुपैयाँभन्दा बढी खर्च भएको सिग्देलले बताउनुभयो। रोपिएका बिरुवा हुर्किएपछि सम्बन्धित बिरुवाको नामसहित जानकारीमूलक बोर्ड राख्ने योजना रहेको उहाँले बताउनुभयो। साथै वर र पिपलका बिरुवा हुर्किएपछि चौतारी निर्माण गर्ने योजना पनि रहेको सिग्देलले सुनाउनुभयो।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको नारायणी दिव्यधाम परिसरलाई हराभरा बनाउन वृक्षारोपणले थप योगदान पुग्ने विश्वास गरिएको छ। सिग्देलले वातावरण संरक्षणसँगै सामाजिक उत्तरदायित्व बहन गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सामाजिक गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो।
वृक्षारोपण कार्यक्रममा नारायणी दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद पाठक, दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुभाषचन्द्र ओझा, सामाजिक व्यक्तित्व शेरबहादुर केसी, सीता भुसाल, कुश्माखर काफ्ले लगायत सिग्देल परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
