

देवचुली । देवचुली-२ स्थित सी.जी. शाश्वत धाम अगाडि बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। देवचुली होटल व्यवसाय संघको आयोजना, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा देवचुली जेसीज र देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।

देवचुली होटल व्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा देवचुली-२ का वडा अध्यक्ष शरद प्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-३ का वडा अध्यक्ष होमनाथ पौडेल, देवचुली-१२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, होटल व्यवसाय संघ केन्द्र, प्रदेश, जिल्ला र नगरका पदाधिकारी लगायत होटल व्यवसायी, युवा तथा स्थानीयको उपस्थिति रहेको थियो ।
‘रक्तदान जीवनदान, रक्तदान गरौँ पुण्य कमाऔँ’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा ८ जना महिलासहित ५७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

रक्तको अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई केही हदसम्म न्यूनीकरण गर्न तथा रक्तदानप्रति आम नागरिकमा सकारात्मक भावना र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक होटल व्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईले जानकारी दिनुभयो । एक व्यक्तिले गरेको रक्तदानबाट कसैको अमूल्य जीवन बच्न सक्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँको भनाई छ ।
कार्यक्रमलाई सागर डिस्टिलरी लिमिटेड, अधिकारी कोल्ड स्टोर, ॐ किचन सप्लायर्स र सि.जी. शाश्वत धाम लगायतका संस्थाले सहयोग गरेका थिए। होटल व्यवसाय संघका वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सचिव खुमराज भुर्तेलले गर्नुभएको थियो ।