

देवचुली । बालबालिकाहरूमा समाज र सामाजिक कार्यप्रति सचेतना अभिवृद्धि गर्दै बौद्धिक क्षमता विकास गर्ने उद्देश्यले देवचुली नगरपालिका वडा नं. २ को दुम्कौलीमा बृहत् टोल स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
शनिबार वडा भित्र रहेका पाँच टोलको संयुक्त आयोजना तथा वडा नं. २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। दुम्कौली टोल विकास संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक विवेक भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष शरद प्रसाद घिमिरे प्रमुख अतिथि रहनुभएको थियो। समाजसेवी कृष्णचन्द्र बस्ताकोटीले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
प्रतियोगितामा जम्मा ११ टोलीको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा कुमारवर्ती टोल प्रथम, दुम्कौली टोल द्वितीय तथा शान्ति टोल विकास संस्था तृतीय स्थान हासिल गर्न सफल भए। अन्य टोलीहरूलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शरद प्रसाद घिमिरेले बालबालिकाहरूलाई समाजसँग जोडेर सामाजिक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस्ता कार्यक्रमले बालबालिकामा नेतृत्व विकास र सहकार्य भावना बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। साथै कार्यक्रम सफल बनाउन टोलहरूले खेलेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुने टोलीले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, तृतीय हुने टोलीले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने टोलीहरूले नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए।