

देवचुली । देवचुली उद्योग वाणिज्य संघले आफ्नो १३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा आयोजित सचेतनामूलक कार्यक्रममा महिला उद्यमी विकास समिति गठन गर्नुका साथै सकारात्मक सोच सम्बन्धी प्रेरणादायी प्रस्तुति समेत गरिएको हो। संघले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने, व्यवसायमा महिलाको नेतृत्वदायी भूमिका बढाउने तथा व्यवसायीबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले समिति गठन गरेको जनाएको छ।

बुधबार संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष धर्म बस्यालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली-१२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली-१३ का वडा अध्यक्ष एकदेव पौडेल, संघका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय व्यवसायी तथा महिला उद्यमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा संघको कार्यसमिति सदस्य तारा भुसालको संयोजकत्वमा महिला उद्यमी विकास समिति गठन गरिएको छ। समितिको सचिवमा संगीता बराल सापकोटा र सदस्यमा सीता डुम्रे चयन हुनुभएको छ। समितिमा थप दुई जना महिला सदस्य मनोनयन गरिने संघले जनाएको छ। नवगठित समितिले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, तालिम तथा सीप विकास, नेतृत्व विकास, उद्यम प्रवर्द्धन र महिलाको आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मनकामना हस्पिटलकी कविता खतिवडाले ‘सकारात्मक सोच’ विषयमा सचेतनामूलक प्रस्तुति दिनुभएको थियो। उहाँले सकारात्मक सोचले व्यक्तिको आत्मविश्वास, निर्णय क्षमता र कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै चुनौतीलाई अवसरका रूपमा लिन सक्ने मानसिकताले मात्र दीर्घकालीन सफलता हासिल गर्न सकिने बताउनुभयो। उहाँले व्यवसाय सञ्चालनका क्रममा आउने उतारचढावलाई धैर्य, आत्मविश्वास र सकारात्मक दृष्टिकोणका साथ सामना गर्न सके व्यवसायलाई सफलताको मार्गमा अघि बढाउन सकिने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघका संस्थापक अध्यक्ष धर्म बस्यालले सबै व्यवसायीको साझा पहल, एकता र सहयोगबाट देवचुली उद्योग वाणिज्य संघ स्थापना भएको स्मरण गर्नुभयो। विगत १३ वर्षमा संघले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले नवगठित महिला उद्यमी विकास समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। महिलाको सक्रिय सहभागिताले संघलाई अझ समावेशी, सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा महिला उद्यमीहरूलाई अझ बढी अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले उद्योग वाणिज्य संघले व्यवसायीहरूको हित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्र आर्थिक विकासले गति लिन सक्ने उल्लेख गर्दै उहाँले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा संघले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
संघका अध्यक्ष सत्यनारायण भुसालले स्थापना कालदेखि नै संघलाई यहाँसम्म पुर्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने संस्थापक, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सदस्य, व्यवसायी तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विगत १३ वर्षको यात्रामा संघले व्यवसायीको अधिकार संरक्षण, विभिन्न कार्यक्रम, सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधि, स्थानीय सरकारसँग समन्वय तथा व्यवसायिक वातावरण सुधारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। अध्यक्ष भुसालले आगामी दिनमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमशीलताको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायमैत्री नीति निर्माणका लागि पैरवी तथा सदस्यहरूको हितमा केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा संघले १३औँ स्थापना दिवसको अवसरमा केक काटेर वार्षिकोत्सव मनाएको थियो। सहभागीहरूले एकअर्कालाई शुभकामना आदानप्रदान गर्दै संघको आगामी यात्रा अझ सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका थिए। संघका वरिष्ठ उपाध्यक्ष विनोद सिलवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव तिलादेवी न्यौपानेले गर्नुभएको थियो।