

देवचुली। नवलपुरका ५ जना खेलाडीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ। १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागिता जनाई पदक प्राप्त गर्ने खेलाडीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो।

शनिबार कावासोतीमा आयोजित कार्यक्रममा पदक प्राप्त गर्ने खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले रकम प्रदान गर्नुभएको हो। पदक प्राप्त गर्ने खेलाडीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।
छात्रवृत्ति प्राप्त गर्नेमा एथलेटिक्स ४×४०० मि. रिलेमा स्वर्ण पदक प्राप्त गर्ने आर्यन राना मगर, भलिबलमा स्वर्ण पदक प्राप्त गर्ने मनोज सुगुरपाक मगर र दिलीप रेशिमी मगर, कराँतेमा कास्य पदक प्राप्त गर्ने मेनुका महतो र एथलेटिक्स ४×४०० मिटर रिलेमा कास्य पदक प्राप्त गर्ने आकृति चौधरी रहेका छन्।

तआर्यन, मनोज, दिलीप र मेनुकाले जनही १७ हजार तथा आकृतिले १२ हजार रुपैयाँ र प्रत्येक खेलाडीले २ हजार यातायात रकम प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशबाट खेलाडीलाई छात्रवृत्ति रकम पठाइएको र समितिले आज कार्यक्रम गरि उक्त रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको छात्रवृत्ति प्रदान कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका पदाधिकारी, खेलाडी तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण जिल्ला खेलकुद विकास समिति नवलपुरका सचिव निरज गौतमले गर्नुभएको थियो ।