

देवचुली । देवचुली स्थित सिजीमा रहेको मिराया होटलमा अनुगमन गरिएको छ । उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा सीजी मिराया होटलमा गरिएको अनुगमनपछि सम्बन्धित निकायले खाद्य सुरक्षा तथा भण्डारण व्यवस्थापनका केही पक्ष तीन दिनभित्र सुधार गर्न होटललाई निर्देशन दिएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा गएको टोलीले होटलको अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गण्डकी (तनहुँ) का कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यको प्राविधिक नेतृत्व रहेको अनुगमन टोलीमा एकीकृत सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायीका प्रतिनिधि, देवचुली नगरपालिकाको आर्थिक विकास शाखा, जनप्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
होटल अनुगमनका क्रममा होटलको सरसफाइ, खाद्य सुरक्षालगायतका पक्षहरुको मुल्याङ्कन गरिएको थियो ।निरीक्षणका क्रममा उपभोगका लागि अनुपयुक्त, कुहिएका, दुर्गन्धयुक्त वा म्याद नाघेका खाद्य सामग्री भने फेला नपरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

केही खाद्य सामग्रीको लेबलिङ, उत्पादन तथा प्रयोग मिति उल्लेख गर्ने व्यवस्था, काटेर राखिएका खाद्य सामग्रीको सुरक्षित भण्डारण, प्लास्टिक सामग्रीको प्रयोग तथा ‘फर्स्ट इन–फर्स्ट आउट (फिफो)’ प्रणालीको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको अनुगमन टोलीको निष्कर्ष छ। ती पक्ष सुधार गरी तीन दिनभित्र जानकारी गराउन होटल व्यवस्थापनलाई निर्देशन दिइएको छ। अनुगमन टोलीले खाद्य सुरक्षासम्बन्धी प्रचलित मापदण्ड पूर्ण रूपमा पालना गर्न, आवश्यक कागजात अद्यावधिक राख्न तथा निर्देशन कार्यान्वयन नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।