आज:  २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026 Search
FLASH NEWS

देवचुली नगरपालिकाद्वारा कृषकहरुका लागि कृषि सामाग्री वितरण

    प्रकाशित २०८३ अषाढ २७, शनिबार (४ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा कृषकहरूका लागि कृषि सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिकाको आयोजनामा शनिबार कृषि विकास शाखा रजहरमा नवप्रवर्द्धन साझेदारी परियोजना, देवचुली नगरपालिका र संघीय शसर्त कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरिएको हो ।

देवचुली नगरपालिकाद्वारा ईटेण्डर मार्फत कृषि सामाग्री खरिद गरि कृषकहरूलाई वितरण गरेको हो । नवप्रवर्द्धन साझेदारी परियोजना, नगरपालिका र किसानहरुको ५०% लागत गरि करिब ९२ लाख रुपैयाँको सामाग्री वितरण गरिएको कृषि विकास शाखा प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सामाग्रीका लागि कृषकहरुको ५०% लागत सहभागिता रहने र कार्यक्रमबाट १३ बढी कृषक समूह, ७० बढी उद्यमी कृषक र व्यवसायिक कृषकहरु लाभान्वित हुनेछन् । कृषकहरुको मागका आधारमा सामाग्री वितरण गरिएको हो ।

नगरपालिकाद्वारा ३० वटा ६ हर्जपावरको हाते ट्याक्टर, २८ वटा ७ हर्जपावरको हाते ट्याक्टर, ७ वटा धान काट्ने मेसिन, मकै रोप्ने मेसिन ज्याब प्लान्टर २१ वटा, पुस सिडर ४ वटा, मकै छोडाउने मेसिन ( कर्न थेसर) १० वटा, कुटानी पिसानी मेसिन ६ वटा, दाना बनाउने मेसिन, तौल लिने मेसिन १/१ वटा, धान, गहुँ काट्ने, थ्रेसर लगाउने कम्बाइन हार्भेष्टर र टेलर १ / १ वटा लगायतका अत्याधुनिक कृषि सामाग्रीहरू वितरण गरिएको भट्टराईले बताउनुभयो ।

ठुला ट्याक्टरले काम गर्न अप्ठ्यारो पहाडी क्षेत्रमा किसानहरुका लागि हाते ट्याक्टर वितरण गरिएको हो । सोही कार्यक्रममा देवचुली ४ को कृषकहरुका लागि वितरणका लागि वडा कार्यालयले ३ वटा ७ हर्जपावरको हाते ट्याक्टर, २ वटा मकै रोप्ने मेसिन ( ज्याब प्लान्टर), ४ वटा पुस सिडर र २ वटा कुटानी पिसानी मेसिन समेत वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ । सामाग्री खरिदका लागि देवचुली-४ ले ३ लाख बजेट विनियोजन गरेको थियो ।

कार्यक्रमको उद्घाटन सत्र देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले कृषकहरूको आर्थिक विकासमा यस्तो पहल महत्त्वपूर्ण रहेको बताउँदै यसले कृषिको उत्पादनशक्ति र व्यवसायिक दृष्टिकोणलाई मजबुत बनाउने बताउनुभयो । नगर प्रमुख न्यौपानेले कृषकहरूको उत्प्रेरणा बढाउन र जीवनस्तर सुधार गर्नका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिका देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्री, देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, कार्यपालिका सदस्य विद्याबहादुर बिक, गोमादेवी पौडेल, कृषि विकास शाखाका कर्मचारीहरु लगायत कृषकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले गर्नुभएको थियो ।

Write your Comment