आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

सिटिजन्स बैंकद्वारा देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण

    प्रकाशित २०८३ अषाढ २४, बुधबार (४ दिन अघि)


देवचुली । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, धारापानी शाखाद्वारा देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण गरिएको छ । बैंक आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण गरेको हो ।

मंगलबार आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक विश्वास ढुंगेलले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. कमलराज न्यौपानेलाई इसिजी मेसिन हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै शाखा प्रबन्धक ढुंगेलले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न अस्पताललाई इसिजी मेसिन उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

हस्तान्तरण कार्यक्रममा मेसु डा. कमलराज न्यौपानेले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त उपकरणले अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार इसिजी मेसिनले मुटुसम्बन्धी समस्याको प्रारम्भिक पहिचान तथा उपचार प्रक्रियालाई थप सहज बनाउनेछ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालय, संघसंस्था तथा समुदायमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ। साथै समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक विकासका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको शाखाले जनाएको छ। कार्यक्रममा बैंकका कर्मचारी, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड धारापानी शाखामार्फत लकर सुविधा समेत सञ्चालनमा ल्याएको जनाएको छ। सेवाग्राहीको आवश्यकता र चाहनाअनुसार आगामी दिनमा थप आधुनिक बैंकिङ सेवा विस्तार गर्दै लैजाने योजना रहेको शाखा प्रबन्धक ढुंगेलले जानकारी दिनुभयो। विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ तथा ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका हाल देशभर २०० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्।

Write your Comment