

देवचुली । देवचुली नगरपालिकामा कृषि पर्यटन प्रवर्द्धनका लागि कृषक पाठशाला परियोजनाको समीक्षा गरिएको छ । गण्डकी प्रदेश सरकारको नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित “कृषि पर्यटन प्रवर्द्धनका लागि कृषक पाठशाला परियोजना” को आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका गतिविधिको समीक्षा गर्ने उद्देश्यले परियोजना समीक्षा कार्यक्रम गरिएको हो ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले गर्नुभएको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, परियोजना सञ्चालन भएका वडाका कृषक, सरोकारवाला निकायका प्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सृजना कँडेलले कृषक पाठशाला परियोजनाको अवधारणा, उद्देश्य, सञ्चालन प्रक्रिया तथा परियोजनाबाट अपेक्षित उपलब्धिहरू बारे जानकारी गराउनुभएको थियो। उहाँले कृषक पाठशाला अन्तरगत आईपिएम कार्यक्रम गरिएका मुख्य गतिविधि र त्यसका उपलब्धिको बारेमा समेत जानकारी गराउनुभएको थियो । साथै उहाँले कृषक पाठशालाले सिकाइमा आधारित व्यावहारिक कृषि प्रणालीको विकास गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमा टेवा पुर्याएको उल्लेख गर्नुभयो।

कृषि शाखा प्रमुख गगन भट्टराईले आर्थिक वर्ष २०८२/०८३ मा परियोजना अन्तर्गत सञ्चालन गरिएका सम्पूर्ण गतिविधि, कार्यक्रमको प्रगति, बजेट कार्यान्वयन, प्राप्त उपलब्धि तथा देखिएका चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले कृषक पाठशाला सञ्चालन, क्षमता अभिवृद्धि तालिम, कृषि पर्यटन प्रवर्द्धन, रैथाने बाली तथा परिकारको संरक्षण, होमस्टे व्यवस्थापन, कृषकको सीप विकास, अध्ययन अवलोकन, कृषि उद्यमशीलता प्रवर्द्धन लगायतका गतिविधिबाट परियोजनाले सकारात्मक उपलब्धि हासिल गरेको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी कृषक तथा जनप्रतिनिधिहरूले परियोजनाबाट प्राप्त अनुभव, सिकाइ तथा उपलब्धिबारे आफ्ना धारणा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी, दिगो र परिणाममुखी बनाउनुपर्ने सुझाव दिएका थिए। कृषि उत्पादनको बजारीकरण, कृषि पर्यटनको विस्तार, स्थानीय उत्पादनको ब्रान्डिङ तथा कृषकलाई निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि सहभागीहरूले जोड दिएका थिए।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले कृषिलाई आधुनिक, व्यवसायिक र पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई सबल बनाउन कृषक पाठशाला परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले कृषकको उत्पादन वृद्धि, आयआर्जन विस्तार तथा स्थानीय स्रोत–साधनको संरक्षण गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न यस्ता परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले समीक्षा कार्यक्रमले परियोजनाको उपलब्धि, चुनौती तथा आगामी कार्यदिशा स्पष्ट गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव तथा सिकाइलाई आगामी योजना निर्माण र कार्यान्वयनमा समावेश गरी परियोजनालाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाइने विश्वास व्यक्त गर्नुभयो।
