आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगितामा नवलपुर तेस्रो, उत्कृष्ट रेफ्री अवार्ड पनि नवलपुरलाई

    प्रकाशित २०८३ अषाढ २१, आईतबार (६ दिन अघि)


नवलपुर । गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोग तथा गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा लमजुङको भोरलेटारमा असार १९ देखि २१ गतेसम्म सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ मा नवलपुर जिल्ला तेक्वान्दो टोलीले ऐतिहासिक सफलता हात पार्दै समग्र तेस्रो स्थान हासिल गरेको छ।

गण्डकी प्रदेशकै सबैभन्दा कान्छो जिल्लाको रूपमा परिचित नवलपुरले सीमित स्रोत–साधनका बाबजुद २ स्वर्ण, ५ रजत र ७ कांस्य पदक जित्दै प्रदेशस्तरमा आफ्नो उत्कृष्ट उपस्थिति जनाएको हो। प्रतियोगितामा हरि बहादुर परियार (पुरुष–६८ केजी) र मनीष महतो (पुरुष–७४ केजी) ले स्वर्ण पदक जिते। यस्तै सुचित पाण्डे, सन्देश बि.के., प्रियंका थापा (एकल तथा जोडी पुम्से) र लक्की राना मगर (जोडी पुम्से) ले रजत पदक हात पारे। त्यसैगरी कञ्चन महतो, शालिन खण्डालुक, दुर्गा प्रसाद चौधरी, लक्की राना मगर (एकल तथा समूह पुम्से), सनम महतो र राजीव पाठक ले कांस्य पदक जित्दै नवलपुरको पदक सङ्ख्या १४ पुर्‍याएका छन्।

प्रतियोगितामा नवलपुरकी रेफ्री मुनु थापा ले “उत्कृष्ट रेफ्री अवार्ड” प्राप्त गर्दै जिल्लाको गौरव अझ उचो बनाएकी छन्। नवलपुर जिल्लामा तेक्वान्दो खेलको जग बसाल्न महत्वपूर्ण भूमिका खेल्नुभएका संस्थापक अध्यक्ष राजु भुसाल को नेतृत्व र योगदानको निरन्तरतासँगै जिल्ला तेक्वान्दो परिवारले प्रदेशस्तरमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएको खेलकर्मीहरूले बताएका छन्।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवबाट भएको थियो भने समापन समारोहमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यस उपलब्धिप्रति नवलपुर जिल्ला तेक्वान्दो परिवारले सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री, अभिभावक, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।

Write your Comment