

बिबेक भण्डारी ।देवचुली नगरपालिका अन्तर्गत रहेको शिशवार मध्यवर्ती वन क्षेत्रमा हालसम्म ४ हजारभन्दा बढी पर्यटकले जंगल सफारी तथा अवलोकन गरेका छन् । देवचुली नगरपालिका पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेपछि नगरभित्र रहेको दिव्य मध्यवर्ती क्षेत्रमा टिकट काटेर जाने पर्यटकको संख्या मात्र ४ हजार ३ सय ३ पुगेको शिशवार पर्यटन समितिका अध्यक्ष रोशन पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार आन्तरिक पर्यटकसँगै सार्क राष्ट्र तथा अन्य विदेशी पर्यटकहरू पनि अवलोकनका लागि आउने गरेका छन्। सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ३ सय ७५ र अन्य विदेशी पर्यटक २८ जना गरी कुल ४ हजार ३ सय ३ जनाले टिकट काटेर प्रवेश गरेका हुन् । यो तथ्यांक २०७४ सालमा स्थापना भएको पर्यटन समितिले हालसम्म संकलन गरेको हो । पर्यटन विकास समितिका अध्यक्ष पौडेलका अनुसार प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त स्थानहरूमा भ्यू टावर निर्माण गर्ने, पर्यटन स्थलसम्म पुग्ने पदमार्गको मर्मत, स्तरोन्नति तथा विस्तार गर्ने, विश्रामस्थल, शौचालय, खानेपानी, पार्किङ, सूचना केन्द्र तथा संकेत बोर्ड जस्ता आधारभूत पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको छ। यसका साथै स्थानीय कला, संस्कृति, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडिएका कार्यक्रम सञ्चालन गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी सामाजिक सञ्जाल, सञ्चारमाध्यम, पर्यटन मेला, डकुमेन्ट्री तथा प्रचार सामग्रीमार्फत पर्यटन गन्तव्यको पहिचान बढाउने लक्ष्य पनि राखिएको छ।
नेपाल पर्यटन बोर्ड, स्थानीय, प्रदेश तथा संघीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गरी पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने पौडेलले बताउनुभयो। त्यसैगरी, स्थानीय युवालाई पर्यटनसँग सम्बन्धित सीपमूलक तालिम प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने, वातावरण संरक्षणमा ध्यान दिँदै समुदायको समृद्धिसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्य समितिले राखेको छ।
देवचुली नगरपालिकाले पछिल्ला वर्षहरूमा पर्यटनलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिन थालेको छ। शिशवार मध्यवर्ती वन क्षेत्रको बढ्दो लोकप्रियताले नगरको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ। आवश्यक पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र दीर्घकालीन योजना कार्यान्वयन गर्न सकिए शिशवार केवल देवचुलीको मात्र होइन, नवलपुर जिल्लाकै उत्कृष्ट जंगल सफारी गन्तव्यका रूपमा स्थापित हुने निश्चित देखिन्छ।