आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुली- ११ का दुर्गाप्रसाद न्यौपानेद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

    प्रकाशित २०८३ अषाढ १९, शुक्रबार (१ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका–११ धारापानी निवासी दुर्गा प्रसाद न्यौपानेले आफूले प्राप्त गर्दै आएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता स्वेच्छाले नलिने निर्णय गर्नुभएको छ । ७७ वर्षीय न्यौपानेले वडा कार्यालयमा निवेदन दर्ता गर्दै सामाजिक सुरक्षा सुविधा वास्तविक आवश्यकता भएका ज्येष्ठ नागरिकसम्म पुग्नुपर्ने विश्वासका साथ नेपाल सरकारलाई सहयोग गर्न भत्ता नलिने निर्णय गरेको घोषणा गर्नुभएको हो ।

न्यौपानेले आफ्नो नाममा उपलब्ध हुँदै आएको सामाजिक सुरक्षा भत्ता बन्द गरिदिन वडा कार्यालयसमक्ष अनुरोध गर्नुभएको हो । उहाँका अनुसार हाल प्राप्त गरेको भत्ता आगामी आर्थिक वर्षबाट बन्द गर्न निवेदन मार्फत वडामा उपस्थित भइ जानकारी गराउनुभएको हो । वडा अध्यक्ष तिलप्रसाद काफ्लेलाई भेटी आफुले राजीखुसी स्वेच्छाले भत्ता नलिने बताउनुभएको हो ।

निवेदन बुझ्दै देवचुली–११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेले दुर्गाप्रसाद न्यौपानेको निर्णय अनुकरणीय भएको बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता राज्यले आर्थिक तथा सामाजिक रूपमा आवश्यक परेका ज्येष्ठ नागरिकका लागि व्यवस्था गरेको सुविधा हो। दुर्गाप्रसाद न्यौपानेले स्वेच्छाले भत्ता नलिने निर्णय गरेर सामाजिक उत्तरदायित्व र नैतिकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँको यो निर्णयले अन्य सक्षम व्यक्तिलाई पनि सकारात्मक सन्देश दिने विश्वास लिएका छौं,” अध्यक्ष काफ्लेले भन्नुभयो ।

उहाँका अनुसार न्यौपानेको निवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा उहाँको अनुरोध अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण नगरिने र सम्बन्धित निकायमा जानकारी गराइने वडा कार्यालयको तयारी रहेको उहाँले बताउनुभयो ।

Write your Comment