

देवचुली । देवचुली नगरपालिका वडा नम्बर १३ को सहकार्यमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वडा भित्रका ९ घरमा निःशुल्क खानेपानी धारा जडान गरेको छ। देवचुली–१३ ले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको १ लाख रुपैयाँ तथा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साझेदारीमा निशुल्क धारा जडान गरिएको हो।
आर्थिक रूपमा विपन्न तथा खानेपानी सेवाबाट वञ्चित रहेका ९ घरपरिवारमा निःशुल्क धारा जडान गरिएको वडा अध्यक्ष एकदेव पौडेलले जानकारी दिनुभयो। घरमै सुरक्षित खानेपानीको पहुँच पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै सरसफाइ र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको विश्वास छ । वडा कार्यालयले आगामी दिनमा समेत आधारभूत खानेपानी सेवाबाट वञ्चित नागरिकलाई प्राथमिकतामा राख्दै जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा खानेपानी सेवाको पहुँच विस्तार गर्दै सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यका काम गरिरहेको संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले बताउनुभयो । प्रगतिनगर खानेपानीले देवचुली नगरपालिकाका १० देखि १५ वडासम्म सेवा प्रदान गर्दै आएको छ ।