आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुली–१२ का आमा समूह तथा मन्दिर व्यवस्थापन समितिलाई वाद्यवादन सामग्री वितरण

    प्रकाशित २०८३ अषाढ १७, बुधबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका–१२ वडा कार्यालयले वडा भित्रका आमा समूह तथा मन्दिर व्यवस्थापन समितिहरूलाई वाद्यवादन सामग्री वितरण गरेको छ। स्थानीय कला, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको हो।


वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्गग खरिद गरिएका सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा नगरपालिकाको आर्थिक विकास शाखा, वडा जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो। वडा कार्यालयले १२ वटा मादल, १२ वटा खैँजडी, १२ वटा मुजुरा, १२ वटा छयाङ छयाङ तथा ४ वटा हार्मोनियम गरी विभिन्न वाद्यवादन सामग्री वितरण गरेको हो। सामग्री वडा नम्बर १२ भित्र रहेका सक्रिय आमा समूह तथा मन्दिर व्यवस्थापन समितिहरूलाई प्रदान गरिएको हो ।

वडा अध्यक्ष भुर्तेलले स्थानीय कला, संस्कृति, भजन–कीर्तन तथा धार्मिक एवं सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन सामग्रीले महत्त्वपूर्ण योगदान पुग्ने व्यक्त गर्नुभएको थियो । समुदायमा महिलाको सक्रिय सहभागिता बढाउन, सांस्कृतिक परम्परालाई जीवन्त राख्न तथा सामाजिक एकता मजबुत बनाउन वडा कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।


कार्यक्रममा सहभागी आमा समूहका प्रतिनिधिहरूले वाद्यवादन सामग्री उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यसबाट धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज हुने बताएका थिए।

Write your Comment