

बिबेक भण्डारी, देवचुली ।“स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने नाराका साथ १२ औँ अन्तर्राष्ट्रिय योग दिवस नवलपुरमा पनि मनाइएको छ । नवलपुरको देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा २ घण्टा योग अभ्यास गराइएको थियो ।

अस्पतालका महाप्रबन्धक हरि सापकोटाका अनुसार हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने योग दिवस अन्तराष्ट्रिय स्तरमा मनाइ रहेको सन्दर्भमा प्राकृतिक चिकित्सालयले पनि योगसंगै अहिले रगत अभावका धेर समाचार आएको र रगत अभाव हुन नदिन सहयोग स्वरुप रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । अस्पतालका अध्यक्ष प्रदिपराज घिमिरेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विभिन्न संघसंस्था, सुरक्षा निकाय, अस्पताल समितिका पदाधिकारी, कर्मचारी लगायतको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

आयोजित योग अभ्यासमा ५० जना बढिको सहभागिता रहेको थियो । योग अभ्यास अस्पतालकी सहायक निर्देशक आजाद पुरीले प्रदान गर्नुभएको थियो । कावासोती रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको रक्तादान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।