आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

५ औं मेयर कप फुटबल प्रतियोगिता–२०८२ को आयव्यय तथा प्रगति प्रतिवेदन सार्वजनिक

    प्रकाशित २०८३ अषाढ ७, आईतबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका–१ स्थित देविगैरा खेल मैदानमा सम्पन्न भएको ५ औं मेयर कप फुटबल प्रतियोगिता–२०८२ को आयव्यय तथा प्रगति विवरण सार्वजनिक गरिएको छ। गत पुषमा भएको प्रतियोगिताको आयोजक समितिले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।

वडा युवा तथा खेलकुद विकास समिति, देवचुली–१ का अध्यक्ष प्रदीप काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली–१ का वडा अध्यक्ष कृष्णबहादुर केसी प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई, दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुभाष चन्द्र ओझा, नगर तथा वडा खेलकुद विकास समितिका पदाधिकारी, खेलप्रेमी, समाजसेवी, स्थानीय युवा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा प्रतियोगिता सञ्चालनका लागि प्राप्त आर्थिक सहयोग, विभिन्न शीर्षकमा भएको खर्च तथा प्रतियोगिताबाट प्राप्त उपलब्धिबारे विस्तृत जानकारी गराइएको थियो। आर्थिक समितिका संयोजक तुल्सी गौतमले सार्वजनिक गर्नुभएको विवरणअनुसार प्रतियोगिताका लागि देवचुली नगरपालिकाबाट रु. २ लाख ३८ हजार ८४७, देश तथा विदेशमा रहनुभएका विभिन्न दाताहरूबाट रु. ५ लाख ७९ हजार ९९७, संघसंस्थाहरूबाट रु. १ लाख ३५ हजार ९ सय तथा उठ्न बाँकी सहयोग रकम रु. ३५ हजार ४ सय गरी कुल रु. ९ लाख ९० हजार १ सय ४४ आम्दानी भएको थियो। उक्त आम्दानीमध्ये प्रतियोगिता सञ्चालन, पुरस्कार व्यवस्थापन, खेल सामग्री खरिद, व्यवस्थापकीय कार्य तथा अन्य आवश्यक शीर्षकहरूमा गरी कुल रु. ४ लाख ७७ हजार ६ सय २२ खर्च भएको जानकारी दिइएको छ। आयव्यय विवरणअनुसार प्रतियोगिताबाट रु. ५ लाख १२ हजार ५ सय २३ बचत रहेको आर्थिक समितिले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष कृष्णबहादुर केसीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने बताउँदै यस्ता प्रतियोगिताले गाउँ–समाजमा भाइचारा, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, दाताहरू तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तह, विभिन्न संघसंस्था तथा समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सार्वजनिक सुनुवाइमार्फत आर्थिक पारदर्शिता कायम गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी ढंगले खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष प्रदीप काफ्लेले प्रतियोगिताको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाताहरू, खेलाडीहरू, स्वयंसेवक, सुरक्षाकर्मी, दर्शक तथा स्थानीयवासीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रतियोगिताबाट बचत भएको रकमलाई आगामी खेलकुद गतिविधि तथा खेल पूर्वाधार विकासमा उपयोग गर्ने विषयमा आवश्यक छलफल र निर्णय गरिने जानकारी दिनुभयो। सार्वजनिक सुनुवाइमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको थियो ।

Write your Comment