आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

कावासोतीमा पूर्व खेलाडीदेखि पदक विजेतासम्म सम्मानित

    प्रकाशित २०८३ अषाढ २, मंगलबार (३ हफ्ता अघि)


ज्ञानु पंगेनी, नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास, संरक्षण र खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पूर्व खेलाडी, उदयीमान प्रतिभा तथा विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।मंगलबार कावासोती नगर खेलकुद विकास समितिको आयोजनामा गरिएको कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्‍याउनुभएका पूर्व खेलाडीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । सम्मानित हुने पूर्व खेलाडीहरूमा राष्ट्रिय भलिबल खेलाडी सरोज महतो, ब्याडमिन्टन खेलाडी विष्णु श्रेष्ठ, क्रिकेट खेलाडी राजु गुरुङ, एथलेटिक्स खेलाडी तिलकजी.सी., फुटबल खेलाडी रमेश श्रेष्ठ तथा बक्सिङ खेलाडी शेरबहादुर गुरौ रहनुभएको छ ।


यसैगरी उदयीमान खेलाडी क्षितिज खनाल, आयुष्मा चापागाईं र एरोन विक्रम मल्ललाई पनि सम्मान गरिएको थियो । प्रदेशस्तरीय, राष्ट्रिय तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक हासिल गरेका खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।कार्यक्रममा आधारभूत तहस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ३० वटा सामुदायिक विद्यालय तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी १५ विद्यालयलाई प्रोत्साहन अनुदान रकम समेत वितरण गरिएको थियो । खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रशिक्षक, अफिसियल तथा विभिन्न संघसंस्थालाई समेत सम्मान गरिएको थियो ।

कावासोती–१२ का अध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनाल (दीपेश), प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डे, नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईं, शिक्षा शाखा अधिकृत राजन पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठ तथा जिल्ला फुटबल संघका अध्यक्ष मेघराज पाण्डेलगायतको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष खनालले नयाँ तथा पुराना खेलाडीलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान, परिचय विस्तार र खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कावासोतीमा यस वर्ष मोफसलकै सर्वाधिक पुरस्कार राशिको कावासोती गोल्डकपदेखि साइकल दौडजस्ता नयाँ खेल प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा नगरपालिका लागेको बताउनुभयो । अध्यक्ष खनालले आगामी आर्थिक वर्षका लागि करिब ९९ लाख रुपैयाँ बजेट माग गर्ने गरी खेलकुदसम्बन्धी योजना तयार गरिएको जानकारी दिँदै कावासोतीलाई खेलमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफूहरु लागि परेको उहाँले बताउनुभयो ।

कावासोती–१२ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनाल (दीपेश)को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने श्रोत शिक्षक तीर्थ कंडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाइ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Write your Comment