

देवचुली । देवचुली नगरपालिकामा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा देवचुली उद्योग वाणिज्य संघको समन्वयमा “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।

देवचुली नगरपालिका आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, रोजगारदाता, श्रमिक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख हरि न्यौपानेले श्रमिकको सम्मान, मर्यादित रोजगारीको प्रवर्द्धन तथा स्थानीय स्तरमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले संविधानले सुनिश्चित गरेको रोजगारीको हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो । देवचुली नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विशेष प्राथमिकता साथ काम गरिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकामा श्रम डेस्क स्थापनाको घोषणा गर्नुभएको थियो। नगरपालिकाले श्रम डेस्कमार्फत स्थानीय श्रमिक, रोजगारदाता, वैदेशिक रोजगारीमा जान इच्छुक नागरिक तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउने छ। श्रम डेस्कले स्थानीय श्रमशक्तिको अभिलेखीकरण, रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच समन्वय, रोजगार सूचना तथा परामर्श सेवा प्रवाह, रोजगारी मिलान, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा कार्य गर्ने नगरपालिकाले जनाएको छ।
कार्यक्रममा प्रशिक्षक विदुर कार्कीले स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्कको अवधारणा, आवश्यकता तथा सञ्चालन प्रक्रियाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले श्रम बजार व्यवस्थापन, रोजगार सेवाको पहुँच विस्तार तथा श्रमिकमैत्री सेवा प्रवाहका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले देवचुली नगरपालिकाले श्रम डेस्कको स्थापना गरेकोमा धन्यवाद ज्ञापन गर्दै यसबाट स्थानीय श्रमिक र रोजगारदाताबीच समन्वय बढ्ने, रोजगारीका अवसरहरूको जानकारी सहज रूपमा प्राप्त हुने तथा श्रम र रोजगार सम्बन्धी सेवाहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए ।
देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन आर्थिक विकास शाखाका प्रमुख शिवप्रसाद सापकोटाले गर्नुभएको थियो ।