

शनिबार दिनभरजसो घरमै बित्यो। वीरगञ्जको गर्मी त्यसै पनि कुनै परिचयको विषय होइन, अनुभवको विषय हो। बिहानदेखि नै घामको ताप यति चर्को थियो कि बाहिर निस्कने जाँगर नै आएन। कोठाभित्र पंखा चलिरहेको थियो, तर हावामा पनि गर्मी मिसिएको जस्तो लाग्थ्यो। त्यही भएर चिसो कफी एक गिलास बनाएँ, कुर्सीमा आरामले बसेँ र हातमा मोबाइल लिएर सामाजिक सञ्जाल स्क्रोल गर्न थालेँ। सुरुमा त समय काट्ने साधारण प्रयास मात्र थियो, तर बिस्तारै मोबाइलको स्क्रिनमा देखिएका पोस्ट, समाचार र टिप्पणीहरूले मनलाई अर्कै दिशातर्फ डोर्याउन थाले।
एउटै घटनाको समाचार थियो। तल हजारौँ प्रतिक्रिया थिए। कसैले त्यसलाई देशको लागि राम्रो कदम भनिरहेको थियो, कसैले त्यसैलाई विनाशको सुरुवात भन्दै थियो। एउटै तथ्य, तर निष्कर्षहरू एक-अर्काको ठीक उल्टो। अर्को पोस्टमा राजनीतिक बहस थियो। पक्षधरहरू आफ्ना नेताको समर्थनमा उभिएका थिए, विपक्षीहरू आलोचनामा। कसैले प्रमाण देखाइरहेको थियो, कसैले भावनात्मक तर्क। केही बेरपछि अर्को पोस्ट आयो, फेरि त्यही अवस्था। विषय बदलिन्थ्यो, पात्र बदलिन्थे, तर मानिसहरूको सोच्ने शैली भने उस्तै देखिन्थ्यो। त्यही बेला मनमा एउटा प्रश्न आयो—आखिर मानिस यस्तो किन छ? मानिसलाई प्रकृतिले सोच्ने, विश्लेषण गर्ने, प्रश्न गर्ने र निर्णय गर्ने क्षमता दिएको छ भने किन ऊ यति धेरै प्रभावमा बाँचिरहेको हुन्छ?
हामी प्रायः भन्छौँ, मानिस सबैभन्दा बुद्धिमान जीव हो। ऊ विगतको घटनाबाट सिक्न सक्छ, वर्तमानलाई बुझ्न सक्छ र भविष्यको अनुमान गर्न सक्छ। अरू जीवहरू पनि आ-आफ्नो स्तरमा बुद्धिमान होलान्, तर मानिसको विशेषता चेतनशील विश्लेषण हो। उसले केवल बाँच्दैन, उसले आफ्नो बाँचाइको अर्थ पनि खोज्छ। तर यति हुँदाहुँदै पनि मानिसको सोच किन प्रायः उसले जन्मेको ठाउँ, हुर्केको समाज, पाएको शिक्षा, भेटेका मानिस र रोजेको समूहले निर्धारण गरेको जस्तो देखिन्छ?
सायद यसको उत्तर मानिसको चेतनाभन्दा पनि उसको अस्तित्वसँग जोडिएको छ। मानिस जन्मँदा कुनै विचारधारा लिएर जन्मँदैन। न ऊ कुनै राजनीतिक दलको समर्थक हुन्छ, न कुनै धर्मको अनुयायी। एउटा सानो बच्चा केवल संसारलाई हेर्न र बुझ्न खोजिरहेको चेतना मात्र हुन्छ। तर बिस्तारै परिवारले उसलाई केही कुरा सिकाउँछ, समाजले केही कुरा देखाउँछ, विद्यालयले केही कुरा पढाउँछ, अनि अनुभवहरूले ती सबैलाई जोडेर एउटा संसार निर्माण गरिदिन्छ। अन्ततः उसले संसारलाई जस्तो छ त्यस्तो भन्दा पनि आफूलाई देखाइएको चस्माबाट हेर्न थाल्छ।
मानिसको महानता उसले सबै कुरा जान्न सक्नुमा होइन। मानिसको महानता त उसले आफ्नै सोचमाथि प्रश्न गर्न सक्नुमा छ।
मलाई कहिलेकाहीँ लाग्छ, मानिसको दिमाग एउटा घर जस्तो हो। त्यो घर उसले आफैँ बनाएको जस्तो लाग्छ, तर त्यसका इँटा अरूले दिएका हुन्छन्। भाषा अरूले सिकाएको, मूल्य अरूले देखाएको, सही र गलतको मापन अरूले दिएको। त्यसैले जब हामी कुनै विषयमा आफ्नो धारणा व्यक्त गर्छौँ, त्यसभित्र कतै न कतै हाम्रो परिवार, समाज, शिक्षा र अनुभवको आवाज पनि मिसिएको हुन्छ।
शायद यही कारणले राजनीतिक दलका कार्यकर्ताहरू आफ्ना नेताको कमजोरी देखेर पनि त्यसलाई स्वीकार गर्न सक्दैनन्। किनभने त्यो केवल नेताको कुरा हुँदैन, त्यो उनीहरूको आफ्नै पहिचानको कुरा बनिसकेको हुन्छ। यदि उनीहरूले आफ्नो पक्ष गलत थियो भनेर स्वीकारे भने, उनीहरूलाई लाग्न सक्छ कि आफ्नो वर्षौँको विश्वास, संघर्ष र निष्ठा पनि प्रश्नको घेरामा आउँछ। त्यसैले धेरैजसो मानिस सत्य खोज्नुभन्दा पहिले आफ्नो विश्वास जोगाउन लाग्छन्। उनीहरूलाई सत्यभन्दा बढी आफ्नो मानसिक स्थिरता प्रिय लाग्छ।
यो कुरा राजनीतिमा मात्र होइन, जीवनका लगभग सबै क्षेत्रमा देख्न सकिन्छ। धर्ममा, समाजमा, खेलकुदमा, यहाँसम्म कि सामान्य दैनिक कुराकानीमा पनि। मानिसले प्रायः निष्कर्ष पहिल्यै बनाइसकेको हुन्छ, अनि त्यसलाई समर्थन गर्ने तर्क पछि खोज्छ। हामी आफूलाई तार्किक प्राणी भन्छौँ, तर धेरैजसो अवस्थामा तर्क हाम्रो निर्णयको कारण होइन, हाम्रो निर्णयको बचाउ मात्र बनेको हुन्छ।
अहिले विश्वकप सुरु भएको छ। खेलकुदको माहोल तात्दै गएको छ। सामाजिक सञ्जालमा हेर्दा लाग्छ प्रतियोगिता सुरु हुनुभन्दा पहिले नै धेरैले विजेता घोषणा गरिसकेका छन्। कसैले भन्छ, “यो खेलाडी संसारकै सर्वश्रेष्ठ हो।” अर्कोले भन्छ, “उ भन्दा त फलानो हजार गुणा राम्रो।” कसैले आफ्नो टोलीलाई अजेय ठान्छ, कसैले अर्को टोलीलाई कमजोर प्रमाणित गर्न हर सम्भव तर्क दिन्छ। रमाइलो त त्यतिबेला लाग्छ जब खेल सुरु नै भएको हुँदैन, तर समर्थकहरूको बहस भने फाइनल खेलिसकेको जस्तो हुन्छ। “यो मेरो खेलाडी”, “यो हाम्रो टिम”, “त्यो त भाग्यले मात्र चलेको हो”, “उसलाई खेलाडी भन्न मिल्छ?” यस्ता वाक्यहरू सुन्दा कहिलेकाहीँ हाँसो उठ्छ। किनभने खेलाडीहरू आफैँ मैदानमा यति तनावमा नहोलान्, जति समर्थकहरू सामाजिक सञ्जालमा देखिन्छन्।
तर गहिरिएर सोच्दा त्यो पनि केवल खेलको कुरा होइन। त्यो मानिसको मनोविज्ञानको कुरा हो। हामी कुनै न कुनै पक्ष रोज्छौँ। त्यसपछि त्यो पक्ष हाम्रो पहिचानको हिस्सा बन्छ। अनि हामी तथ्यभन्दा बढी आफ्नो पहिचानको रक्षा गर्न थाल्छौँ। राजनीतिक दलमा पनि त्यही, खेलकुदमा पनि त्यही, धर्ममा पनि त्यही। मानिसले आफ्नो समूहलाई बचाउँदा आफूलाई बचाइरहेको महसुस गर्छ।
सायद मानिसको सबैभन्दा ठूलो आवश्यकता सत्य होइन, सम्बन्ध हो। ऊ एक्लै बाँच्न सक्दैन। उसलाई कुनै न कुनै समूह चाहिन्छ, जहाँ उसले आफूलाई सुरक्षित महसुस गर्न सकोस्।
सायद मानिसको सबैभन्दा ठूलो आवश्यकता सत्य होइन, सम्बन्ध हो। ऊ एक्लै बाँच्न सक्दैन। उसलाई कुनै न कुनै समूह चाहिन्छ, जहाँ उसले आफूलाई सुरक्षित महसुस गर्न सकोस्। यही कारणले ऊ कुनै दल, कुनै विचार, कुनै समुदाय, कुनै टोली वा कुनै विश्वाससँग जोडिन्छ। त्यो सम्बन्धले उसलाई पहिचान दिन्छ। अनि एकपटक पहिचान बनिसकेपछि त्यसलाई छोड्न सजिलो हुँदैन।
मलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ कि मानिसको चेतनामा एउटा अदृश्य गुरुत्वाकर्षण हुन्छ। जसरी पृथ्वीले वस्तुहरूलाई आफूतर्फ तान्छ, त्यसरी मानिसको सोचलाई पनि उसका विश्वास, डर, इच्छा, स्वार्थ र पहिचानले तानिरहेका हुन्छन्। हामी आफू स्वतन्त्र रूपमा सोचिरहेका छौँ भन्ने ठान्छौँ, तर कतै न कतै हाम्रो सोच पनि कुनै अदृश्य केन्द्र वरिपरि घुमिरहेको हुन सक्छ।
त्यसैले एउटै घटनामा दुई व्यक्तिले बिल्कुल फरक निष्कर्ष निकाल्न सक्छन्। एउटै तथ्य हेरेर पनि फरक अर्थ निकाल्न सक्छन्। किनभने तथ्यभन्दा पहिले उनीहरूको चेतनाको केन्द्र फरक हुन्छ। कसैलाई राष्ट्रवाद महत्वपूर्ण लाग्छ, कसैलाई स्वतन्त्रता, कसैलाई धर्म, कसैलाई वर्ग संघर्ष, कसैलाई आर्थिक अवसर। अनि उनीहरूले संसारलाई त्यही केन्द्रबाट हेर्छन्।
सायद पूर्ण रूपमा निष्पक्ष मानिस भन्ने कुरा अस्तित्वमै छैन होला कि । हामी सबै कुनै न कुनै प्रभावका उत्पादन हौँ। तर यसको अर्थ स्वतन्त्र सोच असम्भव छ भन्ने होइन। स्वतन्त्र सोच भनेको प्रभावबाट भाग्नु होइन, आफ्नो प्रभावलाई चिन्नु हो। “म किन यस्तो सोच्दै छु?”, “मेरो यो धारणा कहाँबाट आयो?”, “यदि म अर्को वातावरणमा जन्मिएको भए पनि यही सोच्थेँ?” यस्ता प्रश्नहरू आफैँलाई सोध्न सक्नु नै सायद स्वतन्त्र सोचको सुरुवात हो जस्तो लाग्छ।
आखिर मानिस स्वतन्त्र भएर पनि किन यति धेरै प्रभावमा बाँचिरहेको छ?
त्यो शनिबारको गर्मीमा, चिसो कफीको अन्तिम घुट्कीसँगै म यही कुरा सोचिरहेको थिएँ। मोबाइलमा देखिने हजारौँ पोस्ट र टिप्पणीहरू अब केवल सूचना जस्तो लागिरहेका थिएनन्। ती त मानिसको चेतनाका झ्यालहरू जस्ता लागिरहेका थिए। प्रत्येक टिप्पणीभित्र एउटा अनुभव थियो, एउटा डर थियो, एउटा विश्वास थियो, एउटा पहिचान थियो। मानिसहरू समाचारमा बहस गरिरहेका थिए, तर वास्तवमा उनीहरू आफ्ना-आफ्ना संसारहरूको रक्षा गरिरहेका थिए।
अन्त्यमा आएर मलाई लाग्यो, मानिसको महानता उसले सबै कुरा जान्न सक्नुमा होइन। मानिसको महानता त उसले आफ्नै सोचमाथि प्रश्न गर्न सक्नुमा छ। आफूले मानेको कुरा गलत पनि हुन सक्छ भन्ने स्वीकार गर्न सक्नुमा छ। किनकि प्रश्न नगर्ने चेतना स्थिर रहन्छ, तर प्रश्न गर्ने चेतनाले नयाँ संसारहरू खोज्न थाल्छ।
सायद यही कारणले मानिस अरू जीवभन्दा फरक छ। ऊ केवल बाँच्दैन, ऊ आफू किन यस्तो बाँचिरहेको छ भनेर पनि सोच्न सक्छ। र त्यो शनिबारको तातो दिउँसोमा, वीरगञ्जको गर्मी, चिसो कफी, मोबाइलको स्क्रोल र विश्वकपको बहसबीच, मेरो मनमा घुमिरहेको सबैभन्दा रोचक प्रश्न पनि यही थियो—आखिर मानिस स्वतन्त्र भएर पनि किन यति धेरै प्रभावमा बाँचिरहेको छ?
सायद यो प्रश्नको अन्तिम उत्तर कसैसँग छैन। तर प्रश्न आफैँ यति रोचक छ कि त्यसको खोजीमा बितेको समय कहिल्यै खेर जाँदैन। आखिर, सोच्न सक्नु नै त मानिस हुनुको सबैभन्दा ठूलो विशेषता हो। राधे राधे ।