

देवचुली । देवचुली-१७ मा संचालन भएको प्रथम वडा अध्यक्ष कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी वरचुली माविले जितेको छ । फाराम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेलमैदानमा जेठ ९ गतेबाट सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

आइतबार भएको फाइनल खेलमा वरचुली माविले भीमसेन आदर्श नमुना मावि लाई ४-१ गोल अन्तरले हराउँदै उपाधी जितेको हो । वरचुलीबाट विशेष तामाङले २ गोल, सन्दिप तामाङ र रोहिल महतोले १/१ गोल गरेका थिए भने भीमसेनबाट निशान क्षेत्रीले १ गोल गरेका थिए । फाइनल खेलमा वरचुली माविका विशेष तामाङ म्यान अफ दि म्याच भएका थिए ।
नवलपुरका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बिजेता वरचुली मावि ले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता भीमसेन आदर्श नमुना माविले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वरचुली माविका सन्दिप तामाङ उत्कृष्ट खेलाडी, वरचुली माविका नरबहादुर कार्की उत्कृष्ट गोलरक्षक र वरचुली माविका सन्दिप रोका सर्वाधिक गोलकर्ता भएका थिए । उनीहरुलाई शिल्ड र मेडलले सम्मान गरिएको थियो ।

फाराम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-१७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । समापन समारोहमा देवचुली-१७ का वडा गणेश शर्मा चालिसेको स्वागत मन्त्व्य रहेको थियो भने सन्दिप पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।