आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुलीका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    प्रकाशित २०८३ जेष्ठ २५, सोमबार (१ महिना अघि)


देवचुली । जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा देवचुली नगरपालिका वडा नं. ९ र १० मा रहेका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

नेपाल हेल्फे भिटकम जर्मनीको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत अति विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। “घर सिकाइको संसार” अवधारणाअनुसार बालबालिकाले आफ्नै घरमा अध्ययन कक्ष निर्माण गरी थप प्रभावकारी रूपमा सिकाइलाई अगाडि बढाउन सकून् भन्ने लक्ष्यसहित सामग्री उपलब्ध गराइएको संस्थाका महासचिव दिपक शर्माले जानकारी दिनुभयो ।


बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि र सिकाइ सहजीकरणका लागि प्रदान गरिएका सामग्रीमा अध्ययनका लागि आवश्यक टेबल, कुर्सी, कलम, कापी, रङ सामग्री, कथा तथा अन्य पुस्तकहरू, खेल सामग्री र शैक्षिक सामग्रीहरू समावेश रहेका किन्डर इन नेपालका प्रतिनिधि दिपक बस्यालले बताउनुभयो । उहाँका अनुसार यी सामग्रीको प्रयोगबाट बालबालिकाले घरमै व्यवस्थित अध्ययन वातावरण तयार गरी नियमित अध्ययनमा प्रेरित हुने अपेक्षा गरिएको छ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली-१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, दुवै वडामा रहेका विद्यालयका प्रधानाध्यापक, वडा सदस्य, शिक्षक, जागृति बाल तथा युवा सरोकार नेपाल तथा किन्डर इन नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले बालबालिकाको शिक्षामा लगानी गर्नु भविष्यमा लगानी गर्नु सरह भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।


संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण तथा आयआर्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बालबालिकाको सिकाइलाई घरपरिवारमै प्रभावकारी बनाउन ‘रिडिङ कर्नर’ स्थापना अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाको भनाइ छ ।

Write your Comment