

देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार देवचुली-१ र देवचुली-१६ विजयी भएका छन् । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा देवचुली- १ विजयी भएको हो । देवचुली-१ ले देवचुली-११ लाई ४-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलमा देवचुली-१ का तर्फबाट सन्दिप मल्लले ४ गोल गरेका थिए भने देवचुली-११ का तर्फबाट रोशन पुलामीले गोल गरेका थिए । पहिलो सेमिफाइनल खेलमा देवचुली-१ का सन्दिप मल्ल म्यान अफ दि म्याच भएका थिए।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा देवचुली-१६ ले देवचुली-१० लाई हराउँदै विजयी भएको हो । देवचुली-१६ ले देवचुली-१० लाई ट्राइबेकरम ५-४ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को गोलसहित बराबरी भएपछि खेल ट्राइबेकर गएको थियो । निर्धारित समयको खेलमा देवचुली-१६ बाट गिताशं थारुले १ गोल गरेका थिए भने देवचुली-१० का सुमन थापाले १ गोल गरेका थिए । दोस्रो सेमिफाइनल खेलमा देवचुली-१६ का कुशल ठकुरी म्यान अफ दि म्याच भएका थिए ।
देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत शनिबार देवचुली-१ का विरुद्ध देवचुली-१६ बीच फाइनल खेल हुने खेल संयोजक मदन भुसालले जानकारी दिए ।