

देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा बिहीबार वरचुली मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

वरचुली माविले भानुदय माविलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा वरचुली माविका तर्फबाट सन्दिप तामाङ, विशेष तामाङ र आकाश सुनारले १/१ गोल गरेका थिए । बिहीबारको खेलमा वरचुली माविका सन्दिप तामाङ म्यान अफ दि म्याच भएका थिए ।
नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार भीमसेन आदर्श नमुना माविका विरुद्ध लोकसेवा मावि बीच दोस्रो सेमिफाइनल खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।