

देवचुली । ग्रामीण पर्यटन प्रवर्द्धन, स्वरोजगार विकास तथा स्थानीय रैथाने परिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले देवचुली नगरपालिका–१० पृथ्वीनगरमा होमस्टे सञ्चालन, व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कृषक पाठशाला परियोजनामार्फत सञ्चालन गरिएको पाँच दिने तालिम देवचुली नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा जेठ १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

देवचुली–१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, वडा सदस्य, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले देवचुलीमा कृषि र पर्यटन क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै स्थानीय स्रोत, संस्कृति र रैथाने खानालाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धिको आधार तयार हुने बताउनुभयो । उहाँले होमस्टे व्यवसायलाई केवल आवास सेवामा सीमित नराखी स्थानीय पहिचान, संस्कृति, परम्परा र मौलिक खानाको प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले स्थानीय समुदायलाई उद्यमशीलता र स्वरोजगारतर्फ उन्मुख गराउन यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतारी आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
तालिममा होमस्टे महासंघका केन्द्रीय सदस्य चुडामणि पौडेल र राष्ट्रिय सीप परीक्षण बोर्डका विज्ञ नारायण बहादुर तामाङले सहजीकरण गर्नुहुनेछ । तालिम अवधिभर होमस्टे सञ्चालनका आधारभूत सिद्धान्त, पाहुना सत्कार, सरसफाइ तथा स्वच्छता, सेवा व्यवस्थापन, पर्यटनमैत्री व्यवहार, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवर्द्धन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

त्यसैगरी स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज तथा खाद्य सामग्रीको प्रयोग गरी रैथाने परिकारको तयारी, प्रस्तुतीकरण, पोषण महत्व तथा व्यावसायिक उपयोगका विषयमा समेत सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । पछिल्लो समय पर्यटकहरू स्थानीय मौलिक परिकारप्रति आकर्षित भइरहेका बेला यस्ता तालिमले स्थानीय खानाको संरक्षण र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने देवचुली-१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले गर्नुभएको थियो । उहाँले कृषक पाठशाला परियोजनाको उद्देश्यबारे जानकारी गराउँदै कृषि, पर्यटन र उद्यमशीलतालाई एकीकृत गरी स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

देवचुली नगरपालिका क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ग्रामीण जीवनशैलीका कारण पर्यटनको सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ । यस्ता तालिमले स्थानीय समुदायलाई पर्यटन व्यवसायमा आकर्षित गर्नुका साथै होमस्टे सञ्चालनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूले होमस्टे व्यवस्थापन तथा रैथाने पाककलासम्बन्धी व्यावहारिक सीप हासिल गरी स्थानीय स्रोत र सम्भावनाको उपयोगमार्फत आयआर्जन वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ ।