

देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा आइतबार वरचुली मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

वरचुली माविले नेपाल नमुना माविलाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा वरचुली माविका तर्फबाट सन्दिप मगरले २ गोल, संगम शाही र विशेष तामाङले १/१ गोल गरेका थिए भने नेपाल नमुना माविका तर्फबाट सन्देश थापाले १ गोल गरेका थिए । आइतबारको खेलमा वरचुली माविका सन्दिप मगर म्यान अफ दि म्याच भएका थिए ।
नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत सोमबार भानुदय माविका विरुद्ध ओएसिस इङ्लिस स्कुल बीच क्वाटरफाइनलको खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।