

देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शनिबार भीमसेन आदर्श नमुना मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

भीमसेन आदर्श नमुना माविले अमर इङलिस स्कुललाई ३-१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा भीमसेन आदर्श नमुना माविका तर्फबाट प्रितम थापा, दिवश आले र ओमबहादुर बिकले १/१ गोल गरेका थिए भने अमर इङलिस स्कुलका युसान तामाङले १ गोल गरेका थिए । शनिबारको खेलमा भीमसेन आदर्श नमुना माविका प्रितम थापा म्यान अफ दि म्याच भएका थिए ।
नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत आइतबार वरचुली माविका विरुद्ध नेपाल नमुना माध्यमिक विद्यालयबीच खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।