

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग साथै देवचुली खबर र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार पिठौली स्वास्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

वडाको आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरीय योजना अन्तरगत वडाबासीको स्वास्थ्य परीक्षण गर्नका लागि शिविरको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाबासीहरुलाई ठुलो अस्पतालहरु जान दुरीको हिसाबले टाढा र वडामा सीमान्तकृत समुदायको बाहुल्यता रहेकाले विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चौकीमा नै शिविर राखिएको उहाँले बताउनुभयो । वडाले यस वर्ष ६ वटा नि: शुल्क स्वास्थ्य शिविर गरिएको साथै आगामी वर्षमा समेत विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर संचालन गर्ने उहाँले बताउनुभयो । ` वडा कार्यालयले वडाबासीहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिरहेका छौं´ वडा अध्यक्ष खनालले भन्नुभयो ।

शनिबार भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. सुमित पौडेल र दन्त रोग विशेषज्ञ स्मृति शर्मा लगायत टिमद्वारा बिरामीको परीक्षण गरिएको हो । शिविरमा ९१ जनाले दन्त रोग सम्बन्धि सेवा लिएका छन् र ७० जनाले छाला रोग सम्बन्धि विशेषज्ञ सेवा लिएका छन् । कावासोती १२ का वडाबासीलाई आयोजना गरिएको शिविरमा पिठौली स्वास्थ्य चौकीमा उपलब्ध हुने ल्याब सेवा परीक्षण निशुल्क गरिएको आयोजकले जनाएको छ ।