आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुलीमा अपाङ्गता भएका व्यक्तिहरूको कानूनी अधिकारबारे दुई दिने कार्यशाला सम्पन्न

    प्रकाशित २०८३ जेष्ठ १६, शनिबार (२ हफ्ता अघि)


देवचुली । देवचुलीमा अपाङ्गता भएका व्यक्तिहरूको कानूनी अधिकारबारे दुई दिने कार्यशाला सम्पन्न भएको छ । कामना सेवा विकास बैंक लिमिटेडको सहयोग तथा सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) संस्थाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको कानूनी अधिकारसम्बन्धी दुई दिने सचेतना कार्यशाला सम्पन्न गरिएको हो ।


देवचुली नगरपालिका–५ स्थित सकलादेवी माध्यमिक विद्यालयमा जेठ १४ र १५ गते सञ्चालन गरिएको कार्यशालामा अपाङ्गता भएका १० जना व्यक्तिहरूका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरू गरी करिब ३० जनाको सहभागिता रहेको थियो। कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको परिचय, अपाङ्गताको प्रकार तथा उनीहरूको अधिकारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै नेपालको संविधान, स्थानीय, प्रदेश तथा संघीय सरकारद्वारा उपलब्ध गराइने सेवा, सुविधा र कानूनी व्यवस्थाका साथै अन्तर्राष्ट्रिय स्तरमा सुनिश्चित गरिएका अधिकारबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।


त्यसैगरी परिवार, विद्यालय तथा समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति गरिनुपर्ने व्यवहार, समावेशी वातावरण निर्माणका उपाय तथा अपाङ्गता भएका बालिका, किशोरी र महिलाहरूको महिनावारी स्वास्थ्य, सुरक्षा र हिंसाविरुद्धको संरक्षणका विषयमा समेत सचेतना प्रदान गरिएको थियो। कार्यक्रममा हिंसाप्रति शून्य सहनशीलताको अवधारणा र अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेद तथा दुर्व्यवहार न्यूनीकरणका उपायहरूबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा कानून व्यवसायी तथा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र खनाल, सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) संस्थाका कोषाध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सौगात वाग्ले र अपाङ्गता अधिकारकर्मी रोजिना पोख्रेलले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई कानूनी रूपमा सुनिश्चित अधिकारको प्रभावकारी उपयोग, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागिता बढाउने विषयमा प्रशिक्षण दिनुभएको थियो।

सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना अधिकारबारे जानकार बनाउन र समाजमा समान अवसर प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।समापन कार्यक्रमको सहजीकरण ठाकुर शर्माले गर्नुभएको थियो। आयोजक संस्थाले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समावेशीकरणका विषयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Write your Comment