

देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा बुधबार भानुदय मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

भानुदय माविले कुमारवर्ती इङलिस स्कुललाई ५-१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा भानुदय माविका तर्फबाट बबिन साथिघरेले २ गोल, मिसन राई र सुसन कुमालले १/१ गोल गरेका थिए भने कुमारवर्ती इङ्लिस स्कुलका तर्फबाट सहिल सुनारले गोल गरेका थिए । बुधबारको खेलमा भानुदय माविका बबिन साथिघरे म्यान अफ दि म्याच भएका थिए ।
नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत बिहीबार देवचुली माविका विरुद्ध जनक माध्यमिक विद्यालयबीच खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।