

देवचुली । देवचुली-७ मा रहेको भीमसेन आदर्श नमुना माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । भीमसेनबाट परीक्षामा सहभागीमध्ये ८७.०५% विद्यार्थी ग्रेडेड भएसँगै सामुदायिक विद्यालयमा देवचुली नगरपालिकामा प्रथम हुन सफल भएको हो । एसईई परीक्षामा सहभागी भएका २२४ जना मध्ये १९५ जना विद्यार्थी ग्रेडेड हुन सफल भएका हुन् ।

नतिजामा नगर प्रथम भएको भीमसेनले सामुदायिक विद्यालयमा नवलपुर जिल्ला मै प्रथम भएको विद्यालयले दाबी गरेको छ । भीमसेनबाट स्पर्श डिस्वाले ३.९५ जिपिए, अनुपमा भट्टराईले ३.९२ जिपिए, अर्पण कंडेलले ३.९१ जिपिए, दिया रेग्मीले ३.९१ जिपिए, इश्वर तिवारीले ३.९१ जिपिए, सबिना भुसालले ३.९१ जिपिए लगायत ३.६ जिपिए माथि ल्याउने ४० जना विद्यार्थी रहेका छन् । त्यसै गरि ४५ जनाले ३.२ देखि ३.६ जिपिए, ७४ जनाले २.८ देखि ३.२ जिपिए, ३६ जनाले २.४ देखि २.८ जिपिए ल्याएर विद्यार्थी ग्रेडेड भएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । नतिजामा सामुदायिक विद्यालयमा देवचुलीमा प्रथम भएको भीमसेन जिल्लामा नै प्रथम भएको उहाँले बताउनुभयो ।
विद्यालयमा सबैको सहयोगले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक भुसालको भनाई छ । विद्यालयले विगतदेखि नै राम्रो नतिजा प्राप्त गर्दै आइरहेकाले अभिभावक तथा विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको उहाँले बताउनुभयो ।

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक विद्यालय हो । विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म २ हजार ४ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । नवलपुर जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सुरुवात गर्ने भीमसेन जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो ।