आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुलीमा तेस्रो उपमेयर कप भलिबल प्रतियोगिता सुरु

    प्रकाशित २०८३ बैशाख २९, मंगलबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ मा तेस्रो उपमेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद विकास समिति देवचुली ६ र सगरमाथा युवा क्लबको सह-आयोजनामा देवचुली- ६ कुमसोतमा रहेको मैदानमा बैशाख २९ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले समुदघाटन गर्नुभएको हो ।


प्रतियोगिता समुदघाटन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले देवचुली नगरपालिकाका खेलाडीहरु राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुँदै आएको बताउनुभयो । नगरपालिकाले सबै खेलको प्रवर्द्धनमा लागेको बताउँदै यस्ता प्रतियोगिताहरु संचालन गरेर खेलाडीहरुलाई सहयोग पुग्ने उहाँले बताउनुभयो । आगामी दिनमा समेत खेलकुद संचालन तथा खेलाडी उत्पादनका लागि नगरबाट सदैव सहयोग रहने उहाँले बताउनुभयो ।

देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईले खेलकुद क्षेत्रमा सुधारका लागि समितिले काम गरिरहेको र निरन्तर विभिन्न प्रतियोगिता संचालन गरिरहेको बताउनुभयो । खेलका मार्फतबाट खेलाडीहरुलाई अनुशासित हुनुका साथै स्वस्थ रहन मदत पुग्ने उहाँले बताउनुभयो । सबैको सहयोग र सुझाव अनुसार आगामी दिनमा काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


प्रतियोगिता उदघाटनमा देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । वडा युवा तथा खेलकुद विकास समिति देवचुली-६ का अध्यक्ष पुरन सिं सोमै मगरको स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ प्रथम हुने वडाले नगद ४० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा महिलातर्फ प्रथम हुने वडाले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ७ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Write your Comment