आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुली नगरपालिकाले मनायो स्थापना दिवस

    प्रकाशित २०८३ बैशाख २५, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाले आफ्नो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । देवचुली नगरपालिकाले आज नगरपालिकाको सभाहलमा प्रगति प्रस्तुति तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि स्थापना दिवस मनाइएको हो ।

देवचुली नगरपालिका २०७१ बैशाख २५ गते स्थापना भएको र यस वर्ष पहिलो पटक स्थापना दिवस मनाइएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले ०७९ सालदेखि हालसम्म नगरपालिकाले गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा नगर क्षेत्रमा सडक विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि तथा पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा भएका कार्यहरू समेटिएका थिए । साथै, नागरिकमैत्री सेवा प्रवाह, डिजिटल प्रणालीको प्रयोग तथा स्थानीय आवश्यकताअनुसार विकास योजनाहरू अघि बढाइएको जानकारी समेत दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरि प्रसाद न्यौपानेले देवचुली नगरपालिकाले छोटो समयमै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले नगरको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारमाध्यम तथा आम नागरिकबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख न्यौपानेले समृद्ध देवचुली निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको भन्दै विकास निर्माणका कार्यलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाइने बताउनुभयो । उहाँले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रास्वपा देवचुलीका सभापति शेरबहादुर केसी, नेपाली काँग्रेस देवचुलीका प्रतिनिधि प्रदिपराज घिमिरे, नेकपा एमाले देवचुलीका अध्यक्ष भीमलाल तिवारी, नेकपा देवचुलीका नगर संयोजक विक्रम मल्ल र राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुली नगर प्रतिनिधि गोपाल पोख्रेलले देवचुली नगरपालिकाले पछिल्लो समय विकास निर्माण तथा सेवा प्रवाहमा सकारात्मक काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्य गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रम स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले स्थापना दिवसको अवसरमा नगरको विगत, वर्तमान र भविष्यलाई समीक्षा गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाइने जानकारी दिनुभयो । देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले राजनीतिक पार्टीबाट दिइएका सुझावहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले गर्नुभएको थियो । उहाँले नगरपालिकाले नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाहमा सुधार गर्दै लैजान निरन्तर प्रयास भइरहेको बताउनुभयो । कार्यक्रममा नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

Write your Comment