

देवचुली । देवचुली-१७ स्थित फाराममा पिप्रहर पर्यटकीय गेट निर्माण सुरु भएको छ । शुक्रबार देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले गेट निर्माणको शिलान्यास गर्नुभएको हो ।

पिप्रहर सामुदायिक होमस्टेको अगुवाईमा गेट निर्माण सुरु गरिएको हो । करिब २५ लाखको लागतमा गेट निर्माण हुने र यस आर्थिक वर्ष मा गण्डकी प्रदेश सरकारद्वारा विनियोजित १० लाख रुपैयाँबाट निर्माणको काम सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टेका अध्यक्ष सोमनाथ महतोले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को आर्थिक वर्षमा निर्माण सकिने र थप बजेटका लागि तिनै तहका सरकारसँग अनुरोध गर्ने बताउनुभयो ।
गेटमा पर्यटकीय गतिविधि झल्कने चित्रहरु राखी निर्माण गरिने र होमस्टे प्रवर्द्धनका लागि गेट निर्माणसँगै अझै सहयोग पुग्ने देवचुली-१७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । गेट निर्माणका लागि वडाले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पिप्रहरमा प्रवेश गर्ने मुल बाटोमा निर्माण गर्न लागिएको गेटले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ । होमस्टे मार्फत चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती क्षेत्रको अवलोकन गर्न, गैंडा, बाघ लगायतका जंगली जनावरको सहजै अवलोकन गर्न सकिने हुँदा गेट निर्माण समयमै सक्नका लागि समेत उहाँले आग्रह गर्नुभयो ।
प्रदेश सरकारको सहयोग अन्तरगतको गेट निर्माणको काम जेठ मसान्तसम्म सक्ने गरि काम गरिने निर्माण समितिका संयोजक प्रेम शाहीले बताउनुभयो । गेट निर्माणको काम आजबाट नै सुरु हुने हुँदा अनुमान गरिएको समयमा यस वर्षको काम सकिने र आगामी वर्ष सबै सरोकारवालाको सहयोगमा निर्माण गरि सकिने उहाँले बताउनुभयो ।